-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । पुसको ठिहीका कारण मौसम झन्- झन् चिसो हुँदैछ । यहीबेला सेयर बजार भने प्रमुख नियामक निकाय धितोपत्र बोर्डको आगामी अध्यक्ष को होला भन्ने अनेकन बहसले तात्तिएको छ । 

धितोपत्र बोर्डमा अध्यक्षको रुपमा रहेर भ्रष्ट छवि बनाएका रमेश हमाल आज(बुधबार) देखि विदामा बस्दैछन् । यससँगै बोर्डको नयाँ अध्यक्ष खोजीका लागि विभिन्न शक्तिकेन्द्रहरुको दौडधूप र चलखेल सुरु भएको छ । दिनहुँका यस्ता दौडधूप, चर्चा र मोलमोलाईले बजार गर्माउनु गर्माएको छ ।

धेरै सोझा र साधारण लगानीकर्तालाई लाग्न सक्छः पुँजीबजारमा नबिकेको सेयरको मात्रै बोलकबोल हुन्छ होला । केही दिनमा माथिल्लो तामाकोशी हाइड्रोपावरको करिब २ करोड कित्ता सेयर दोस्रो बजारमा बोलकबोलमा बिक्दैछ ।

तर, यस्ता बोलकबोलभन्दा धेरै फरक धितोपत्र बोर्डको अध्यक्षको कुर्सीमा समेत बोलकबोल लागिरहेको छ । प्रत्येक रात त्यसको बोलकबोल दर बढिरहेको छ । 

अघिल्लो महिना पुँजीबजारमा एक लगानीकर्ताकी छोरीको विवाह हायात होटलमा भयो । पुँजीबजारका धेरै चिरपरिचित अनुहार त्यहाँ देखिन्थे । तर चर्चा भने नव दुलाहादुलहीको भन्दा पनि  धितोपत्र बोर्डमा खाली हुँदै गरेको अध्यक्ष पदकै भयो । 

कतिपय दाबेदार पनि त्यहाँ देखिन्थे । केहीले त त्यहीँ नै एक अर्कासँग सहयोग माग्न पनि भ्याइसकेका थिए । 

एक उच्च सरकारी अधिकारीसँग सो पदका एक दाबेदरले सहयोग माग्दै भने- 'यसपटक म पनि बोर्ड अध्यक्षमा भिड्दैछु । तपाईले पनि सहयोग गर्नुपर्छ है ।' 

व्यक्तिगत रुपमा विभिन्न राजनीतिक शक्तिकेन्द्रहरुको दैनिकजसो पूजा र आराधना गर्ने मात्र नभई समूह नै बनाएर धितोपत्र बोर्डको नयाँ अध्यक्षको लविङ गर्नेहरु पनि धेरै देखिएका छन् । 

त्यहीमध्येको एउटा समूहभित्र सोही विवाह पार्टीमा धितोपत्र बोर्डको अध्यक्षका लागि तीव्र आकांक्षी ती पात्रले शक्तिकेन्द्रहरुलाई रिझाउन ज्योति विकास बैंकको खातामा २५ करोड रुपैयाँ जम्मा गरिसकेको समेत चर्चा चल्यो । 

तर, त्यही समूहका अर्का दाबेदरले मुख छोपेर हाँस्दै भने-'लौ अब त रु. ४० करोडमा जानुपर्ने भयो ।' 

हामीलाई निकै चाखलाग्दो विषय थियो यो । थप बुझ्ने कोशिश गर्यौं । ती दाबेदारले सटिक उत्तर दिंदै भने-'अहिले नै तिरिहाल्नुपर्ने होइन । आफूले तिर्नुपर्ने पनि होइन । अहिले बोल्ने, पछि तिर्ने अरु नै भइहाल्छन् नि ।'

उनको प्रष्ट संकेत थियो: धितोपत्र बोर्डको अध्यक्ष बनाउन विभिन्न औद्योगिक घराना, धनाढ्य र शक्तिकेन्द्रहरुको पनि चासो हुन्छ । त्यस्ता केन्द्रले अहिले लगानी गरिदिन्छन्, त्यसको रिटर्न आफूले अध्यक्ष बनाएको व्यक्तिको कार्यकालभरि खुलेरै लिन्छन् । 

ती दाबेदार  बिजशालासँग थप खुल्दै थिए । अझ अगाडि बढेर भने-'अहिले त २–४ करोड मात्र दिने हो । बाँकी त पछि दिए पनि हुन्छ ।' 

धितोपत्र बोर्डका आगामी अध्यक्षका लागि बोर्डभित्रै र बाहिर समेत बग्रेल्ती संख्यामा दाबेदार यसपटक पनि देखिएका छन् । बोर्डकै एक उच्च अधिकारीकाअनुसार अहिले पनि ८ जनाभन्दा बढीले अध्यक्षका लागि दरखास्त दिनसक्नेछन् । 

बोर्ड अध्यक्ष हमाल विदामा बस्दै छन् । उनी बिदामा बसेर दौड सुरु गर्ने र उनी पनि करिब २५ करोड नै ठीक पारेर मैदाना पुनः उत्रिएका स्रोत बताउँछ । बोर्डको अध्यक्ष हुँदा कुस्त कमाएका उनलाई व्यक्तिगत रुपमै केही करोड ठीक पार्न समस्या देखिन्न । यही चर्चा चलिरहँदा अर्का एकले भने-'एउटा सिमेन्टलाई प्रिमियममा आईपीओ निश्कासन गर्न दिंदा मात्रै हमालजीले ७० करोड चप्काएछन् नि । अरु मुखामुख गर्दै हाँसे ।'  

अहिले जति पनि दौडमा छन्, तिनीहरुमध्ये साम, दाम दण्डभेद प्रयोगमा जो अगाडि हुन्छ, उसैले धितोपत्र बोर्डको अध्यक्षको कुर्सी हत्याउने जानकारहरु बताउँछन् । 

किन यस्तो मरिहत्ते ?
कुनै समय थियो धितोपत्र बोर्डमा कोही पनि जान मान्दैनथे । धेरैलाई सेयर बजारबारे पर्याप्त ज्ञान पनि थिएन त्यसबेला । पछिल्लो समय सेयर लगानीकर्ता बढ्दै जाँदा र पुँजीबजारबाट १५ अर्ब बढी राजस्व उठेपछि सर्वसाधारण र सरकारको यसमा ध्यान तानिएको हो । 

अझ अहिले बोर्ड अध्यक्षमा तँछाडमछाड हुनुमा भने मूख्य २ वटा कारण छन् । पहिलो भनेको नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने विषय । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज ल्याउनसके ठूलै आर्थिक चलखेल गर्न पाइने बजारको बुझाई छ । 

दोस्रो, पुँजीबजारमा पछिल्लो समय सूचीकृत हुँदै गरेको बास्तविक क्षेत्रका कम्पनीहरु पनि हुन् । किनकी बास्तबिक क्षेत्र आउँदा पुँजीबजारमा ठूलै पैसाको चलखेल हुने गरेको छ । 

यसरी अहिलेको दौडमा रहेका जति पनि इच्छुकहरु छन्, तीमध्ये जसले करिब ४० करोड रुपैयाँ खर्च गर्नसक्छ, जसले भाउजूदेखि छोरीहरुसम्मलाई रिझाउनसक्छ, उही नयाँ अध्यक्ष बन्नसक्ने पक्काजस्तै रहेका स्रोतहरु दाबी गर्छन् ।