-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल भोलि अर्थात् शुक्रबारबाट सकिदैं छ ।

विसं २०७८ फागुन ५ गतेदेखि बोर्डको आठौं अध्यक्ष हुने अप्रत्याशित मौका पाएका हमाल आफ्नो कार्यकालको २२ महिना बिताएर बाहिरिन लागेका हुन् । हुन त धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुने कानूनी व्यवस्था छ । तर हमाल भने चार वर्ष बोर्ड अध्यक्षको रुपमा रहन पाएनन् ।
 

धितोपत्र बजारमा हमालले आफूले छोटो समयमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएका छन् । तर लगानीकर्ताहरुको हकमा भन्नुपर्दा उनको कार्यकाल भरि पूँजीबजारले निकै पीडा भोग्नु पर्‍यो । 

उनी धितोपत्र बोर्डमा आउँदा सेयर बजार २ हजार ८००विन्दु आसपास चलेको थियो । उनी आएसँगै खसेको सेयर बजार १ हजार ८०० को विन्दु अर्थात् करिब १ हजार अंकले गिरावट आयो ।

उनी आउँदा करिब ४० खर्ब रुपैयाँ रहेको बजार पूँजीकरण उनी बोर्डबा बाहिरिंदै गर्दा करिब ३० खर्ब आसपासमा छ ।यो हिसावले हेर्दा उनको कार्यकालमा लगानीकर्ताले १० खर्ब रुपैयाँ गुमाएका छन् ।

उनकै कार्यकालको विषयबारे जिज्ञासा राख्दा बजार जानकार उपेन्द्र पाठक भने केहि राम्रा र केही विवादित काम पनि भएको बताउँछन् ।

उनको विचारमा अध्यक्ष हमालले मर्जरमा गएका कम्पनीहरुको कारोबार छिटो गराउनु, ब्रोकरको संख्या थप्नु हालको लागि नराम्रो भएता पनि भविश्यका लागि भने राम्रै काम गरेको प्रतिक्रया दिए । तर उनले हमालको कार्यकाल विवादरहित भने हुन नसकेको बताए । 
 

उनका अनुसार विवादित काममा आईपीओ निष्कासन गर्न अधिक रुपमा अनुमति दिनु  एक हो । धितोपत्रबोर्डमा २७ वर्षको अवधिमा नआएका आधाभन्दा बढी आईपीओ (६०/७० वटा कम्पनीको) उनकै पालामा आए । 

उनले भने,‘केहिले त प्रिमियम मूल्यमा नै आईपीओ निष्कासन गर्ने अनुमति पाए । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनु कतिको जायज थियो ? त्यो अलग कुरा होला तर यति धेरै आईपीओ निष्कासन भए जसका कारण बजार भने माथि जानै नै सकेन ।’
 

उनका अनुसार नेपाल राष्ट्र बैंकले नीतिमा सहज गर्दा पनि बजार माथि जान सकेन । हमालले केहि कम्पनीका लागि मात्रै स्वार्थ बाझिने गरि ऐन नै संशोधन गरेर तीन वर्षको ठाँउमा दुई वर्ष बनाएर पनि काम गरेको आरोप छ, जुन विवादित पनि रह्यो ।

उनले भने, ‘नयाँ स्टक एक्सचेञ्जको विषय पनि विवादित नै रह्यो । अन्तिम समयसम्म प्रयास त गरे तर सफल र विवादरहित हुन सकेन ।’
 

अर्का बजार जानकार प्रकाश रजौरेको विचारमा अध्यक्ष रमेश कुमार हमाल केही काम गर्न खोज्ने हुटहुटी व्यक्ति भएको तर केहि काम पनि गरेको प्रतिक्रया दिए । 
 

उनका अनुसार केहि कम्पनीलाई इन्साइडर ट्रेडिङमा कारबाही गर्नु, ब्रोकर संख्या थप्नु राम्रा काम हुन् । तर अन्तिममा आएर उनले बाटो विराएर चुकेको पनि रजौरेले आरोप लगाए ।

उनले भने, ‘अन्तिममा केहि कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न दिएर गल्ति गरे ।’
उनले हमालले आफ्नो कार्यकालमा नेप्सेको सिस्टमलाई उचित व्यवस्थापन पनि गर्न नसकेकोे आरोप पनि लगाए ।

केन्द्रीय बैंकको कडा नीतिबाट पेलिएका लगानीकर्ताको लागि उनले विभिन्न निकायमा समन्वय गर्न नसकेको, लगानीकर्ताले अपेक्षा गरे अनुरुप इन्ट्रा डे ट्रेडिङ ल्याउन नसकेको पनि रजौरेको भनाइ छ । 
 

अर्का बजार जानकार टेकेन्द्र खत्रीले धितोपत्र बोर्डमा हमालले सुरुवाती समयमा केहि राम्रो काम गरेको देखिएता पनि अन्तिम समयमा आएर आफूनै धितोपत्र बजार र बोर्डमा सर्वेसर्वा भए जसरी एक्लौटी तरिकाले काम गरेको आरोप लगाए ।

उनले भने, ‘बोर्ड भित्रैका कतिपय आफ्ना आलोचकलाई पाखा लगाएर एक्लौटी रुपमा काम गरेरको, बीमा ऐन विपरित हिमालयन रि-इन्स्योरेन्ससहितका कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिएर हमालले गल्ति गरे ।’