काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्षको निधनप्रति धितोपत्र बोर्डले शोक सभा आयोजना गरेको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा मिति २०६८।०६।३० देखि २०७२।०६।२९ सम्म बोर्डको नेतृत्व गरेका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको हिजो शनिबार असामयिक निधन भएकोमा बोर्ड स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ । 

स्वर्गीय श्रेष्ठको  असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न आइतबार बोर्डमा शोक सभा आयोजना गरिएको र उक्त शोक सभामा बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना लगायत सम्पूर्ण कर्मचारीहरुले उनको तस्वीरमा माल्यार्पण गर्नुका साथै उनको सम्झनामा दुई मिनेट मौन धारण गरेको बताएको छ ।

स्वर्गीय बाबुराम श्रेष्ठको ४ बर्षे कार्यकालमा केन्द्रीय निक्षेप कम्पनी सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत सूचीकृत कम्पनीहरुको धितोपत्रहरुको अभौतिकीकरण गर्ने कार्य प्रारम्भ भएको थियो । त्यसैगरी, सूचीकृत कम्पनी तथा पब्लिक कम्पनीहरुले सार्वजनिक निष्कासन गर्ने धितोपत्रहरुको रेटिङ्ग गरी लगानीकर्ताहरुलाई कम्पनीहरुको जोखिम तथा सम्भावनाहरुको बारेमा जानकारी दिई सुसूचित निर्णय लिन सहयोग पु¥याउने उद्देश्यले साख मूल्यांकन कम्पनीलाई सञ्चालन अनुमति दिने कार्य भएको साथै धितोपत्र बजारका लगानीकर्ताहरुको समस्या, गुनासा, सल्लाह र सुझाव पेश गर्ने कार्यलाई सहजीकरण गर्न बोर्डमा हटलाईन फोनको व्यवस्था गर्ने र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक जनशक्ति पूर्ति गर्ने सम्बन्धि प्रक्रिया अगाडि बढाउने जस्ता महत्वपूर्ण कार्यहरु लगायत पूँजीबजारमा विभिन्न सुधारका कामहरु सम्पन्न गरी सफलता पूर्वक कार्यकाल पूरा गरेका थिए ।