– भक्तराज रसाइली 

काठमाण्डौ । अब स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) ले पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बहन गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले गत पुस २४ गते सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई पत्र लेख्दै अनिवार्य रुपमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न निर्देशन दिएको हो। बोर्डबाट अनुमति प्राप्त दलाल व्यवसायीहरुले खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्नुपर्नेछ। 

सीएसआरसम्बन्धी कार्य विशेषगरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने र यसरी खर्च गर्दा सबै प्रदेशमा आवश्यकताअनुरुप खर्चको वितरण हुनेगरी व्यवस्था गर्न बोर्डको निर्देशन छ।

बोर्डले ब्रोकरलाई अनिवार्य सीएसआरसम्बन्धी कार्य गर्न निर्देशन दिएपछि सेयर बजार शिक्षा देशव्यापी बनाउन सघाऊ पुग्ने बताइएको छ।

हालसम्म बोर्डबाट ५० वटा ब्रोकर कम्पनीले अनुमति पाएका छन्। मोफसलमा ब्रोकरका ४७ वटा शाखा सञ्चालनमा छन्।