काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सञ्चालक समिति र व्यवस्थापनलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आज बुधबार निफ्राको सेयरमूल्य शून्य भएको, नेप्सेको वेबसाइटमा रियल टाइममा डाटा नदेखिएको, अनलाइन कारोबार चुस्तदुरुस्त नभएको, कारोबारमा असहजता भइरहेकोलगायतका विषयमा लगानीकर्ताबाट व्यापक गुनासो आएका कारण धितोपत्र बोर्डले नेप्सेलाई गम्भीर ध्यानाकर्षण भएको भनी पत्र लेख्दै अविलम्ब जबाफ माग गरेको हो। आज कारोबार सुरुआती समयमै निफ्राको सेयर कारोबारमा समस्या देखा परी खरिदबिक्री नै ठप्प भएको थियो। बोर्डले यही विषयलाई लिएर नेप्सेको बोर्ड तथा व्यस्थापनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार कारबाही गर्ने व्यहोरासहितको पत्र पठाएको बोर्डका एक अधिकारीले जानकारी दिए।

नेप्सेका एक उच्च अधिकारीका अनुसार निफ्राको सेयर सबैको हातमा परेको र बिक्रीचाप उच्च भएकाले आज सो कम्पनीको सेयर कारोबार प्रभावित भएको जानकारी दिए। ती अधिकारीका अनुसार निफ्रालाई अन्य सेक्टरमा समावेश गरेको र आज सो समूहका लागि अलग्गै सर्भर राखेकै कारणसमेत अन्य समूहका सेयर कारोबार भने प्रभावित नभएको हो। प्रतिमिनेट १०० भन्दा बढी अर्डर टीएमएसमा इन्ट्री भई सिस्टममा अधिक चाप परेका कारण केही समय प्रभावित भएको ती अधिकारीले दाबी गरे।

धितोपत्र बोर्डले अनावश्यक रुपमा प्राविधिक समस्याबारे यथार्थ जानकारी नै नराखी हचुवाको भरमा पत्र पठाएको नेप्सेका एक उच्च अधिकारी बताउँछन्। ‘हामीले सिस्टमको प्लेटफर्म बनाउने काम हो तर वेबसाइट बनाउन जरुरी पनि छैन’, ती अधिकारी भन्छन्, ‘टीएमएस र वेबसाइटमा १ मिनेटपछि मात्रै डाटा देखिन्छ। डाटा रियल टाइममा छैन भनेर हामीले यसअघि नै लगानीकर्तालाई जानकारी दिइसकेका पनि छौँ।’

नेप्सेले पनि बोर्डको पत्र प्राप्त गरिसकेको स्रोत जिकिर गर्छ। स्रोतका अनुसार पत्र सामान्य रहेको र नयाँ कम्पनीको आईपीओ बाँडफाँडमा अधिक सहभागिता जनाउने समावेशी नीतिले समेत दोस्रो बजारमा बिक्रीचाप बढी सामान्य प्राविधिक समस्या देखिएको व्यहोरा उल्लेख गर्दै जवाफ दिने नेप्सेको तयारी छ।