काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा तयार गरेको छ। 

यसका साथै धितोपत्र बोर्डले यो मस्यौदा निर्देशिकाका सम्बन्धमा कुनै रायसुझाव भए पेस गर्न सम्बन्धित सरोकारवालालगायत सर्वसाधारणहरुलाई आग्रह पनि गरेको छ। बोर्डले रायसुझाव आगामी १५ दिन अर्थात यही वैशाख ३१ गतेसम्म पेस गर्न पनि आग्रह गरेको छ। बोर्डले nabaraj.adhikari@sebon.gov.np मा पेस गर्न पनि अनुरोध गरेको छ। 

निर्देशिकाको मस्यौदाबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि संगठित संस्थाको न्यूनतम चुक्तापुँजीका आधारका आधारमा कारोबार गर्न सक्ने वस्तुहरुको वर्गीकरण पनि गरिएको छ। जसअनुसार चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेका संस्थाले वस्तु विनियम बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ) र (च) मा तोकिएका वस्तुहरुमात्र कारोबार गर्न पाउने छन्। 

त्यस्तै चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेका संस्थाले सोही नियमावलीको अनुसूची–१३ को खण्ड (ख), (ग) र (घ) मा तोकिएका वस्तुहरु कारोबार गर्न पाउनेछन्। 

यसैगरी चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेका संस्थाले भने नियमावलीको अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ) र (च) मा तोकिएका वस्तुहरुमात्र कारोबार गर्न पाउनेछन्। 

यो निर्देशिकाबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनुपर्नेछ। प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने संस्थाका लागि कुल चुक्तापुँजीको कम्तीमा ५ प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्म अनिवार्य रुपमा सेयर लगानी गर्ने गरी प्रस्ताव गर्नुपर्नेछ। 

संस्थापकहरुले लगानी गर्ने रकम बैंक, वित्तीय संस्थालगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट प्रस्तावित संस्थामा लगानी गर्न पाइने छैन। विदेशी रणनीतिक साझेदार संस्थाको लगानी तथा प्राविधिक सहयोगमा स्थापना हुने प्रस्तावित संस्था प्रचलित नेपाल कानुनबमोजिमको सबै कानुनी प्रक्रिया पूरा गरी दर्ता हुनुपर्नेछ। 

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि वस्तु विनियम बजार सञ्चालन गर्ने कम्पनी संस्थापना गर्नुअघि बोर्डको स्वीकृति लिनुपर्नेछ। 

वस्तु विनिमय बजार सञ्चालनको पूर्वस्वकृति प्राप्त गरेको संगठित संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गर्न बोर्डको तोकेबमोजिमको विवरण तथा निवेदन शुल्क २५ लाख रुपैयाँसहित बोर्डसमक्ष निवेदन पेस गर्नुपर्नेछ। 

‘नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा’ हेर्न यहाँ क्लिक गर्नुहोस्।