काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्ने स्वीकृति पाउनेको कम्पनीको संख्या ८८ पुगेको छ। 

धितोपत्र बोर्ड आइतबार थप ५ कम्पनीलाई स्वीकृति दिएसँगै बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने कम्पनीको संख्या ८८ पुगेको हो। आज बोर्डले सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र कुमारी इक्विटी फन्डलाई स्वीकृति दिएको हो। 

यसअघि गत वैशाख ६ गते धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेस्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, जे–नेक्स इन्भेस्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र नेपाल बैंक गरी ९ कम्पनीलाई यस्तो स्वीकृति प्रदान गरेको थियो। 

त्यसअघि धितोपत्र बोर्डले ७४ वटा कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको छ।