– अर्जुन तिमिल्सिना

काठमाण्डौ। हाल धितोपत्र बजारमा ५ लाख रुपैयाँभन्दा बढीको प्रतिकारोबारमा लगानीकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्छ। यद्यपि सबै लगानीकर्ताका लागि भने प्यान अनिवार्य गरिएको छैन। 

हाल प्यानको आवश्यकता र महत्व बढ्दै गएको छ। सेयर बजारको विकास र विस्तारसँगै अहिलेको समयमा व्यक्तिगत लगानीकर्ताले पनि प्यान लिएरै कारोबार गर्दा फाइदा नै हुने देखिन्छ। 

प्यानको मुख्य फाइदा भनेको पुँजी बजारबाट कमाएको आम्दानीलाई वैधानिक दिनु र आम्दानीको स्रोत पहिचान हुन सक्नु पनि हो। सेयर बजारबाट पैसा कमाएपछि देश–विदेश पनि घुम्न जान तथा आफ्ना छोराछोरीलाई विदेशमा अध्ययनका लागि पठाउनुपरेमा प्यानमार्फत गरिएको कारोबार विश्वासिलो आधार बन्छ। विदेशी दूतावास तथा अध्यागमन विभागहरुले प्यानमार्फत गरिएको कारोबारलाई वैध मान्ने हुँदा हरेक लगानीकर्ताका लागि देश–विदेश घुम्न जान यो निकै उपयुक्त हुने देखिन्छ। 

नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले पनि धितोपत्र बजारमा प्यान लिएर कारोबार गर्दा उपयुक्त हुने बताए। ‘प्यानले करचुक्तामा सहज हुन्छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र ठूलठूलो कारोबार गर्नेलाई पनि आम्दानीको स्रोत देखाउन सकिन्छ।’

घरजग्गा खरिदका लागि पनि आम्दानीको स्रोत देखाउन सहज हुने भएकोले लगानीकर्ताले प्यान लिनु उपयुक्त हुने मैनालीको भनाइ छ। ग्राहकले लिएका प्यान टीएमएस लिनमा मात्रै नभएर आफ्नो ब्रोकरमार्फत सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्टस) मा पनि दर्ता गर्न मैनालीले जोड दिए। 

मैनालीका अनुसार प्रथामिक सेयर भर्ने र पर्नेले पनि राज्यलाई कर तिर्ने हुँदा प्यानमार्फत कारोबार गर्दा उपयुक्त हुन्छ। 

आन्तरिक राजस्व विभागका एक अधिकारी प्यानमार्फत गरिने कारोबारले ग्राहकको आयस्रोत देखिने तथा भोलि राम्रो प्रोफाइल बन्ने आधार बन्न सक्ने बताउँछन्। ‘आफूले राज्यलाई योगदान गरेको पनि देखिने हुँदा प्यान लिएका ग्राहकको आत्मसम्मान पनि हुनेछ’, ती अधिकारीले भने। 

सेयर बजार जानकार गोविन्दप्रसाद घिमिरेले पनि हरेक लगानीकर्ताले प्यानबाटै कारोबार गर्दा फाइदा हुने तर्क गरे। ‘लगानीकर्ताले नाफामा जसरी पनि कर तिर्ने भएकोले यो त प्रमाणित कागजमा देखिएकै राम्रो हुन्छ’, उनले भने। 

कारोबार पनि धेरै पुँजीको गर्न पाइने, सेयर धितो ऋण लिँदा फाइदा हुने तथा ब्रोकरहरुमा पनि विश्वासको वातावरण बनेर क्रेडिट लिमिट पनि बढी हुने हुँदा हरेक लगानीकर्ताले स्वःस्फुर्त रुपमा प्यान लिनुपर्ने घिमिरेको भनाइ छ। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले प्यानले एउटा राष्ट्रिय परिचयपत्रको पनि काम गर्ने हुनाले यो फाइदाजनक नै हुने बताए। ‘बैंक तथा वित्तीय क्षेत्रमा प्यानले नागरिकतासरहको एउटा परिचयपत्रको काम गर्छ’, उनले भने, ‘आर्थिक तथा गैरआर्थिक फाइदा हुने भएकोले प्यान सबै लगानीकर्ताले लिएमा राम्रो हुन्छ।’