– अर्जुन तिमिल्सिना

काठमाण्डौ । चारवर्षे रणनीतिक योजना तथा बजेटलाई आधार बनाएर  ल्याउन लागिएको नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रममाथि अहिले भर्चुअल माध्यमबाट विभिन्न बुद्धिजीवी तथा सरोकरावालासँग छलफल भइरहेको छ। दैनिकजसो अहिले बोर्डका अधिकारीहरु आफ्नो नीति तथा कार्यक्रममाथि घनिभूत छलफलमा जुट्ने गरेका छन्। 

पछिल्लो केही कदमका कारण धितोपत्र बोर्डलाई चौतर्फी दबाब परेको छ। त्यसैले बोर्डले आगामी नीति तथा कार्यक्रममा सेयर बजारमैत्री र लगानीकर्तालाई आकर्षित गर्ने खालका महत्वपूर्ण नीतिहरु समावेश गर्ने सम्भावना रहेको देखिन्छ। यही कारणले बजारमा अहिले धितोपत्र बोर्डले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमलाई निकै महत्वका हेरिएको छ। 

आगामी नीति तथा कार्यक्रममाथि जारी छलफलमा कमोडिटी स्टक मार्केट, नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्सका विषयमा घनिभूत रुपमा कुराकानी भइरहेको धितोपत्र बोर्डका एक अधिकारीले बताए। ‘यसका साथै गैरआवासी नेपाली (एनआरएन) लाई पनि नेपालको पुँजी बजारमा भित्र्याउने विषयमा प्राप्त रायसुझावमा हामी छलफल गरिरहेका छौँ’, उनले भने। 

धितोपत्र बोर्डले नीति तथा कार्यक्रम साउनको पहिलो साता सार्वजनिक गर्ने योजना बनाएको छ । ‘सकभर साउनको पहिलो साता सार्वजनिक गर्छौं नभए दोस्रो सातासम्म आउने निश्चित छ’, ती अधिकारीले भने। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि आफूहरुले धितोपत्र बोर्डलाई आगामी नीति तथा कार्यक्रमका लागि विभिन्न सुझाव दिएको बताउँछन्। ‘मार्जिन कारोबार, एड्भाइजरी सर्भिस, सबब्रोकर, एपीआई पोलिसी तथा बजार विकास र विस्तारका लागि थुप्रै नीतिगत सुझाव दिएका छौँ’, उनले भने।