काठमाण्डौ । सेयर बजार लामो समयदेखि साइडवेजमा चलेको छ। 

प्रिमियममा आईपीओ र हकप्रद सेयरको बाढी आउँदा सप्लाई बढेर बजार माथि उठ्न सकेको छैन। बजारमा डिमान्ड र सप्लाईबीचको सन्तुलन मिलाउने काममा नियामक निकाय लागेको देखिँदैनन्। जसका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार थला परेको छ। 

सरकारले लगानीकर्ताको गिरेको मनोबल उकास्न ढिलै भइसकेको बजार जानकारहरुको मत छ। धितोपत्र बोर्डले हकप्रद सेयरको बाढी चलाएको लगानीकर्ताको आरोप छ। त्यसमाथि बुक बिल्डिङको बाटो छाडेर आफूखुसी प्रिमियममा आईपीओ जारी गर्दा बजार झनै प्यानिक बनेको लगानीकर्ताको आरोप छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार खराब कम्पनीहरुलाई हकप्रद सेयर निकाल्न दिनु नहुने विषयमा जोड दिन्छन्। ‘सेयर कारोबारमा कमिसन घटाएर र सेयर लोनमा १२ करोडको सीमा हटाएर बजारमा माग बढाउनुपर्छ’, उनले भने, ‘कर्जामा जोखिम भार पनि घटाउनुपर्छ।’ 

उता पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बजारमा अहिले जस्तो पायो त्यस्तो कम्पनीलाई हकप्रद सेयर ल्याउन दिँदा हकप्रद नै भर्न नसक्ने वातावरण बनेको बताउँछिन्। ‘बजार घटेको बेलामा नियामक निकायले आपूर्तिमात्रै बढाउनुभन्दा माग पनि बढाउने नीति लिनुपर्छ’, उनले भनिन्। 

एक मर्चेन्ट बैंकरले धितोपत्र बोर्डले बुक बिल्डिङलाई लत्याएर प्रिमियममा आईपीओ ल्याउन दिनु उचित नभएको बताए। घट्दो बजार सम्हाल्नुपर्ने ठाउँमा उल्टै सेयर आपूर्ति बढाएर लगानीकर्तालाई झनै प्यानिक बनाउने काम नियामकबाटै भइरहेको ती मर्चेन्ट बैंकरको भनाइ छ।