काठमाण्डौ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बुझाएको छ। 

झन्डै २ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाण्डौले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। 

यो प्रकरणमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ। उनीहरुमा के–कस्ता मुद्दा चलाउने भन्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी स्रोत बताउँछ। ‘प्रहरीले यो प्रकरणबाट पीडित बनेका १०६ जनाबाट झन्डै २७ करोडको बिगो रकम माग परेको निष्कर्ष निकालेको छ’, स्रोतले भन्यो। 

संलग्नमध्ये केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। ‘केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ’, स्रोतले भन्यो। 

यो प्रकरणमा संलग्न भनिएका ३२ जनामध्ये १६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र मातहतका इकाइको हिरासतमा राखिएको छ। बाँकी १६ जनालाई फरार छन्। 

पक्राउ पर्नेमा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन्। 

फरारको सूचीमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलगायत छन्।

प्रहरीले बुझाएको प्रतिवेदन सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा पेस गर्ने बताइएको छ।