काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन साहले आज पदभार सम्हालेका छन्। 

राष्ट्रिय सभागृहमा सपथ ग्रहणपछि सुन्धारास्थित महानगरपालिकाको कार्यालयमा पुगेर साहले पदभार सम्हालेका हुन्। पदभार ग्रहणका क्रममा मेयर साहले नगरसभाको बैठक लाइभ गर्ने पहिलो निर्णय पनि गरेका छन् । 

नगरसभाको पहिलो बैठक आज सोमबार ४ बजे बोलाइएको छ। बैठकको प्रत्यक्ष प्रसारण गरिने मेयर साहले जानकारी दिए। 

यसका साथै साहले फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए। ‘हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सरपीडित हुनुपरेको छ। छालाको रोग लागिरहेको छ। फोहोरकै कारण मान्छेहरु अनाहकमा ज्यान गुमाउनुपरिरहेको छ। यो शोक मनाउने बेला हो’, उनले भने, ‘त्यसैले काठमाण्डौको फोहोर व्यवस्था नभएसम्म कुनै पनि प्रकारको खुसियाली मनाउँदिन।’

फोहोर व्यवस्थापन नभएसम्म अरु काम अगाडि नबढाइने पनि साहले बताए। ‘सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म अरु काम गर्दैनौँ’, उनले भने।