काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ३ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ। 

नेप्सेले आज बैंकहरुका सहायक कम्पनी नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिजलाई कारोबार सदस्यता प्रदान गरेको छ। यीमध्ये नबिल सेक्युरिटिजले स्टक डिलरका रुपमा काम गर्नेछ। ‘यी तिनवटै नयाँ ब्रोकरको भौतिक र प्राविधिक पूर्वाधार निरीक्षण गरेर कारोबार सदस्यता प्रदान गरिएको हो’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने। 

यीसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १७ पुगेको छ। यी १७ वटाले केही समयपहिला नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर लाइसेन्स पाएका थिए।

यसअघि नेप्सेले पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा पनि ७ वटै नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको थियो। तीमध्ये ७ वटा नयाँ ब्रोकर कारोबार सञ्चालन गरिसकेका छन् भने बाँकी ७ वटाले कारोबार सञ्चालनको तयारी गरिरहेका छन्। 

सेबोनबाट हालसम्म २९ वटा नयाँ कम्पनीले ब्रोकर लाइसेन्स पाइसकेका छन्। आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये अझै १४ वटा ब्रोकर लाइसेन्स पाउन बाँकी छ।