-प्रकाश न्यौपाने

काठमाण्डौ । लामो समयदेखि लगातार घटेको बजार हिजो एकाएक ९२ अंकले बढेको थियो।  बैकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेपछि बजारमा उछाल आएको थियो। लगानीकर्ताहरुमा खुशियाली छाएको थियो। तर एकदिन पनि बित्न नपाउँदै बजार फेरि दोहोरो अंकले घट्दा लगानीकर्ता निराश भएका छन्। 

यस बिषयमा बजारमा लामो समयदेखि कारोबार गर्दै आएका काठमाण्डौको बसुन्धरा घर भएका सक्रिय लगानीकर्ता किरण बिष्ट हाम्रो सेयर बजारमा लगानी गर्ने  अधिकांश लगानीकर्ता परिपक्व भइनसकेका कारण पनि बजारको घटबढ अलि फरक खालको देखिने बताउँछन्।

लगानीकर्ताहरु बजार बढ्नु र घट्नुको आधारभुत कारण नखोजी कारोबारमा होमिने गरेका कारण पनि हिजो बजार अत्यधिक रुपले बढेको र आज सामान्य अंकले घटेको बताए । नयाँ र अध्ययनबिना नै बजार पसेका लगानीकर्ता फेरि डराएर सेयर बिक्री गर्दा बजार घटेको उनको दाबी छ । 

दुई वर्ष पहिले आफूले साथीभाईको लहै लहैमा लागेर निफ्राको सेयर ५०० मा ५८ हजार कित्ता खरिद गरेको समेत सो क्रममा उनले सुनाए । अन्य कम्पनीका सेयर पनि थिए । साथीभाईले शिवम् सिमेन्टको जस्तै मूल्य हजार माथि जान्छ भन्ने सल्लाह दिएपछि बैंकबाट ऋण नै लिएर निफ्राको सेयर किनेको उनले सुनाए । 

उनले किनेको केही समयमा निफ्राको दोश्रो बजार मूल्य ६०० रुपैयाँसम्म पनि पुग्यो । तर, बजारले ३२०० को टप लगाइसके पछि लगातार घट्न थाल्यो । बजार घटेपछि आफूले नसोचेको घाटा खाएको उनको भनाई छ । 

'पैसा कमाउन भनेर आफ्नो हैसियत भन्दा माथि गएर ऋण लिएर लगानी गर्न नहुने रहेछ ।' उनले बिजशालासँग भने-'आफूलाई आर्थिक समस्या पर्दा कतैबाट सहयोग नहुने रहेछ । बजार घटेपछि बैंकले लगातार मार्जिन कल गर्न थाले । त्यसपछि मैले पनि प्रतिकित्ता ३०० का दरले सेयर बिक्री गरिदिएँ । केही महिनामै मैले ऋण गरेर लगानी गरेको रकममध्ये १ करोड २० लाख रुपैयाँ गुमाएँ ।' 

आफूले नबुझी अर्काको भरमा लगानी गर्दा आफूसँग भएको रकम समेत सकिएको बिष्टले बताए । 'अहिले बल्ल केही कुरा सिकियो । आफूसँग पैसा नभई लहै लहैमा सेयर किन्न नहुने रहेछ ।' उनी भन्छन्-'बजारमा लगानी गर्ने लगानीकर्ताले बढेको बजारमा नभई घटेको बजारमा लगानी गर्नु पर्ने रहेछ । लगानी गर्दा सबै पैसा एकैपटक नभई बिस्तारै बिस्तारै खर्च गर्नुपर्ने रहेछ।' 

धेरै कमाउने महत्वकांक्षा राखेर एकैपटक भएभरको लगानी बजारमा फसाउँदा बजार घटिहाल्यो भने घरको न घाटको भइने आफ्नो तीतो अनुभव उनले सुनाए । बजारबाट ठूलो घाटा भएपछि परिवारमा झैझगडा हुँदै गएको र त्यसकै तनाबले अहिले आफूले ब्लडप्रेसरको औषधि खानुपर्ने अवस्था आएको समेत उनले सुनाए ।