काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरु अपांगमैत्री हुने बताएका छन्।

अर्थ मन्त्रालयमा बिहीबार स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपांगमैत्री बनाइने बताएका हुन्। 

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपांगमैत्री नभएको, तीनपांग्रे सवारीसाधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपांगता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए। उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपांगतगा भएकाहरुका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपांगमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपांगमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका छन्। उनले घाइते तथा अपांगता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारीसमेत दिए।