काठमाण्डौ । क्रेडिट रेटिङको बिजिनेशलाई बुम गर्ने उद्देश्य बोकेको ‘नेपाल रेटिङ एजेन्सी’ नामको कम्पनीलाई धितोपत्र बोर्डले संचालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

बोर्डले यो कम्पनीलाई सोमबार सैद्धान्तिक सहमति दिएको हो । निकै लामो समयको प्रयासपछि कम्पनीका संचालकहरुले कम्पनी स्थापनाको उद्देश्य, नेपालमा क्रेडिट रेटिङ बिजिनेशको अथाहा संभाव्यता लगायतका बिषयमा नियामक तथा अन्य सरोकारवाला निकायहरुलाई कुरा बुुझाएपछि यसले एलओआई पाएको हो । 

‘हामीले बोर्डबाट सैद्धान्तिक सहमति पायौं, अब बाँकी प्रक्रिया अगाडि बढाउन सजिलो भयो ।’ नेपाल रेटिङ एजेन्सी नामक कम्पनीका नेपालतर्फका साझेदार अनलराज भट्टराईले भने–‘बाँकी प्रक्रिया पूरा हुन कम्तीमा पनि अब ६ महिना लाग्ला, त्यसपछि दर्ताको लाइसेन्स आइसक्नेछ ।’  

उनले बिस्तार हुन नसकेको क्रेडिट रेटिङ व्यवसायमा प्रभावकारी टेवा दिने उद्देश्यले कम्पनी बजारमा आउने दाबी गरे । ‘अहिले अस्तित्वमा रहेका क्रेडिट रेटिङ एजेन्सीहरुसँग हामी प्रतिस्पर्धा होइन, उहाँहरुको परिपूरक भएर जानेछौ ।’ भट्टराईले भने–‘हाम्रो मुख्य उद्देश्य क्रेडिट रेटिङको बिषयमा देशबासीलाई जनचेतना जगाउनुु र यसको महत्व बुुझाउनु हो ।’ 

उनले आफूहरुको कम्पनी अरुभन्दा केही फरक ढंगले आउने दाबी समेत गरे । ‘बित्तीय क्षेत्रलाई अझ बढी पारदर्शी र पूँजीबजारलाई अझ बलियो बनाउने हाम्रो उद्देश्य हुनेछ ।’ उनले थपे–‘आवश्यकता अनुसार कम्पनीको सेवा मुुलुकको सबै क्षेत्रमा बिस्तार गरिनेछ ।’ 

अत्याधुनिक प्रविधिमा आधारित विजिनेश हुने भएकोले देशका विभिन्न ठाउँबाट तथ्यांक उत्खनन्को सुविधा दिइने र सुरुवातका दिनमा केन्द्रीकृत प्रणालीमै कम्पनीले काम गर्नेछ । ‘हाम्रो काम गर्ने सिस्टम अहिलेका बैंकहरुको जस्तै हुनेछ ।’–भट्टराईले भने ।

कम्पनीमा संचालनपछिको ५ वर्षको अवधिमा निकै ठूलो रोजगारीको अवसर समेत सिर्जना हुने भट्टराईको भनाई छ । ‘सुरुमा हामी दक्ष र अर्धदक्ष कामदार लिनेछौ । उनले भने–‘त्यसपछि अन्य खालका जनशक्तिलाई समेत लिएर उनीहरुलाई प्रशिक्षित गरी सेवालाई चुस्त दुुरुस्त बनाउनेछौ ।’ क्रेटि रेटिङलाई नेपालमा राम्रो उद्योगको रुपमा विकास गर्ने आफ्नो सपना यही कम्पनीमार्फत पूरा हुने समेत उनले विश्वास व्यक्त गरे ।

कसको कति लगानी ?
क्रेडिट रेटिङको काम गर्ने यस्ता कम्पनी स्थापनाका लागि सुरुवाती न्यूनतम पूँजी २ करोडको हुनुपर्ने प्रावधान छ । यो कम्पनीको सुरुवाती चुक्तापुँजी भने २ करोड भन्दा बढी नै हुनेछ । जसमा ६० प्रतिशत लगानी विदेशी रणनीतिक साझेदारको हुनेछ । २४ प्रतिशतको हाराहारीमा नेपालका वाणिज्य बैंकहरुले लगानी गर्नेछन् भने बाँकी लगानी भट्टराईको हुनेछ । विदेशी रणनीतिक साझेदारको रुपमा डी एण्ड बी ग्रूपले लगानी गर्ने बताइएको छ । ऊबाहेक विदेशी रणनीतिक साझेदारकै रुपमा अर्को कम्पनीले समेत यसमा लगानी गर्नसक्नेछ ।

देशका २८ वाणिज्य बैंकहरुमध्ये अधिकांश यो नयाँ कम्पनीमा लगानी गर्न सकारात्मक रहेका र न्यूनतम १५ वटा बैंकले लगानी गर्ने अवस्था रहेको भट्टराईले जानकारी दिए । 

हाल नेपालमा क्रेडिट रेटिङको काम गर्ने २ वटा कम्पनी अस्तित्वमा छन् । उनीहरुको सेवा पूँजीबजार केन्द्रीत मात्र छ । बजारमा सूचिकृत बाहेकका कम्पनीहरुको क्रेडिट रेटिङ गर्ने कम्पनी अहिलेसम्म अस्तित्वमा छैन ।