काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणको काम यथाशीघ्र अगाडि बढाउन लगानीकर्ताहरुले माग गरेका छन्।

आज सेबोनको खुमलटारस्थित कार्यालय पुगेर अध्यक्ष रमेशकुमार हमाललाई लगानीकर्ताका संघसंगठनले १० बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। ‘केही समय अगाडि नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको प्रमुख मागका रुपमा रहेको नयाँ स्टक, नया ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा सेबोन अध्यक्ष हमाल र लगानीकर्ताको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज लाइसेन्सको काम यथाशीघ्र प्रक्रियामा लगी पूरा गरियोस्।’

लगानीकर्ताको बढ्दो सेयर खरिद बिक्री लागतलाई न्यूनीकरण गर्न हाल रहेको महँगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढीमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गर्न पनि लगानीकर्ताले माग गरेका छन्। ‘डीपी चार्ज रकम रु. २५ कायम भइरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढीमा रु. ५ कायम गरियोस्’, ज्ञापनपत्रमा भनिएको छ।

दीर्घकालीन लगानीकर्ता र अल्पकालीन लगानीकर्ताको वर्गीकरण गरी दीर्घकालका लागि ३ प्रतिशत र अल्पकालका लागि ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ। ‘दोस्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्तालाई छिटोभन्दा छिटो बजार प्रवेशको वातावरण सिर्जना गर्नुपर्छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘अप्सन ट्रेडिङ, फ्युचर मार्के, इन्ट्राडे मार्केट र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागू गरियोस्।’

केवाईसी डिजिटल सुरु गरी भौतिक केवाईसीको अन्त्य गर्न सेबोनसँग लगानीकर्ताहरुले माग गरेका छन्। ‘ब्रोकर कम्पनीमार्फत सुरु गर्ने भनिएको मार्जिन लेन्डिङ व्यवस्था अविलम्ब सुचारु गरियोस्’, ज्ञापनपत्रमा भनिएको छ। 

नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सीमा १२ करोड लागू गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्न लगानीकर्ताले माग गरेका छन्। ‘नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १००% नै कायम गर्न विशेष पहल गरियोस्’, ज्ञापनपत्रमा उल्लेख छ। 

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानी संघले संयुक्त रुपमा ज्ञापनपत्र अध्यक्ष हमाललाई बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष हमालले पुँजीबजार विकास र विस्तारका लागि आफूले काम गरिरहेको बताए। उनले लगानीकर्ताहरुले उठाएका माग पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।