काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ स्टक एक्सचेन्ज ल्याउने गरी भइरहेको काम तत्काल रोक्न माग गरेको छ। 

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्चेन्ज (नेप्से)लाई कमजोर बनाउने उद्देश्यले नयाँ स्टक एक्सचेन्ज ल्याउने गरी भइरहेको काम तत्काल रोक्न रास्वपाले माग गरेको हो। ‘नेप्सेको बिजनेस नयाँ स्टक एक्सचेन्जमा डाइभर्ट गरी सरकारले प्रतिवर्ष पाइरहेको १ अर्ब लाभांश घटाई वित्ती क्षेत्रमा निश्चित समूहको कब्जामा जाने उद्देश्य राखी नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएकोले उक्त कार्य तत्काल रोक्नुपर्छ’, रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

नेप्सेमा निजी क्षेत्रलाई ल्याउने सरकारको चाहना भए नेप्सेको अहिलेको सेयर स्वामित्वमा ल्याउन सकिने रास्वपाले जनाएको छ। ‘अर्को स्टक एक्सचेन्ज ल्याउँदा नेप्सेबाट सरकारलाई आइरहेको आम्दानी मात्रै नभई सेयर कारोबारमा पनि म्यानुपुलेसन हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अर्थतन्त्र सानो भएको र कारोबार हुने कम्पनी पनि थोरै भएकाले अर्को स्टक एक्सचेन्ज चाहिँदैन।’ 

यसअघि नै पुनर्बीमा कम्पनीको नाममा पनि सरकारी पुनर्बीमा कम्पनीलाई धरासायी बनाउने गरी नयाँ पुनर्बीमा कम्पनी गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘यस्तो कार्य सीधै आर्थिक अपराध र अनियमितता हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा अर्थमन्त्रीको जबाफ र ध्यानाकर्षण गराउँछौँ। अविलम्ब धितोपत्र बोर्डलाई नयाँ लाइसेन्स दिने कार्य रोक्न निर्देशन होस्।’