काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलित भएका छन्। 

नेप्से कर्मचारी संघका अगुवाइमा आजबाट नेप्सेका कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले नेप्से परिसरमा ब्यानर टाँग्दै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रियाविरुद्ध २–३ घन्टासम्म नाराबाजी गरेका थिए। 

संघका अध्यक्ष नवराज थापाले बिजशालासँग कुराकानी गर्दै अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता नरहेको बताए। ‘हामीले अहिले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका ३ वटै कम्पनीलाई यही हालको नेप्सेमा लगानी गर्न आह्वान गरेका छौँ’, उनले भने। 

नेप्सेले आईपीओ तुरुन्त जारी गर्ने आफूहरुको माग रहेको थापाले जानकारी दिए। ‘नेप्सेलाई पुनः संरचनाबाटै कर्पोरेटेजाइजन र मोर्डनाइजेन गर्नुपर्ने हाम्रो माग पनि छ’, उनले भने, ‘२०८० सालभित्रै नेप्सेको पुनः संरचना गर्नुपर्ने भन्ने हाम्रो माग हो।’

आफ्ना मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने पनि थापाले प्रस्ट पारे। ‘हाम्रा मागका विषयमा छिटो सम्बोधन नभए थप आन्दोलन चर्काउन बाध्य हुनेछौँ’, उनले भने।