काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोक्न गरेको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले स्वागत गरेका छन्।

नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गरेका हुन्। ‘सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सीमित स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयलाई नेप्से कर्मचारी संघ हार्दिक स्वागत गर्दछ।’

यसैगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा नीतिगत भ्रष्टाचार तथा आर्थिक चलखेल भएको दाबीसहित रोक्न माग गर्दै संघीय संसदमा आवाज उठाउने सबै सांसद, नेपाल सरकार, सञ्चारकर्मी, विज्ञ तथा सरोकारवालालगायत सबैलाई संघले धन्यवाद दिएको छ। 

सरकारले हरेक वर्ष बजेट वक्तव्यमा नेप्सेको पुनः संरचनासम्बन्धी विषय समावेश गरे पनि कार्यान्वयन तहमा समस्या रहेको जगजाहेर रहेको विज्ञप्तिमा उल्लेख छ। ‘आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा नेप्से सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कार्यान्वयन हुने गरी नेप्सेलाई कर्पोरेटाइजेसन र मोर्डनाइजेसनका माध्यमबाट यही आर्थिक वर्षभित्र तत्काल पुनर्संरचना गरिनुपर्दछ’, संघले माग गरेको छ। 

नेप्से पुँजीबजारको दोस्रो बजार सञ्चालन गर्ने नेपाल सरकारको स्वामित्वमा स्थापित एकमात्र सार्वजनिक संस्थान हो। ‘यस संस्थाले आफ्नो स्थापनादेखि निरन्तर नाफा आर्जन गर्दै आएको विषय सबैमा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै प्रत्येक वर्ष नेपाल सरकारलाई उल्लेखनीय रुपमा लाभांश वितरण तथा राष्ट्रिय राजश्वमा योगदान गर्दै आएकोमा आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा बढी आयकर बुझाई नेपाल सरकारबाट मध्यम स्तरीय करदाताको समूहमा उत्कृष्ट करदाता कम्पनीको उपाधि प्राप्त गरेको छ।’