– अनन्त्य सुन्दर

काठमाण्डौ । व्यापारिक घराना र राजनीतिज्ञको नङ र मासुको जस्तो सम्बन्ध हुन्छ। त्यसैले हरेक नयाँ सरकार गठन हुँदा नयाँ व्यापारिक घरानाको उदय हुन्छ। 

छिमेकी मुलुक भारतमा हेर्दा गान्धीको पालामा बिरला, नेहरुको पालामा टाटा र बजाज, बाजपेयीको पालामा अम्बानी र मोदीको पालामा अडानीको उदय भएको थियो। नेपालमा पनि यसअघिको सरकारमा केपी ओली हुँदा यति ग्रुप फस्टाएको थियो। अहिले देउवा सरकारको पालामा शंकर ग्रुप फस्टाएको छ। त्यसको एकमात्र कारण हुन् लबिस्ट ‘दीपक भट्ट’।

लगानी बोर्डका सीईओ सुशील भट्टका भाइ दीपक भट्ट राजनीतिक दलका प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओलीदेखि प्रचण्डसम्म निकट मानिन्छ। राजनीतिकका साथै नियामकीयस्तरमा उच्च पहुँच भएका दीपक भट्टलाई अहिले देशको नै सबैभन्दा शक्तिशाली ‘लबिस्ट’का रुपमा चिनिन्छ। उनै भट्टको आडमा शंकर ग्रुप व्यावसायिक संरचना खडा गर्न सफल भएको व्यवसायीहरु नै बताउँछन्।

शंकर गोल्यानका दुई छोरा सहिल र सुलभले अहिले स्टिल, अटो मोबाइल्स, सिमेन्टदेखि दर्जनौँ क्षेत्रमा शंकर ग्रुपमार्फत आफ्नो व्यावसायिक संरचना खडा गरेका छन्। शंकर ग्रुपले दीपक भट्टको आडमै अन्य सबै व्यावसायिक घरानालाई पछि पार्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई रुझाएर हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स लिन सफल भएको थियो। 

बीमा समिति निकट स्रोतका अनुसार शंकर ग्रुपले लघु बीमा लाइसेन्सका लागि पनि आवश्यक गृहकार्य सुरु गरिसकेको छ।  

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष नियुक्त भएको एक महिनामै रमेशकुमार हमालले इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडलाई क्रेडिट रेटिङ कम्पनीको लाइसेन्स दिएका थियो। उक्त रेटिङ कम्पनीमा पनि शंकर ग्रुपको नै छद्म लगानी रहेको व्यवसायीहरु बताउँछन्। 

झन्डै अढाइ वर्षदेखि लाइसेन्सका लागि आवेदन दिएको इन्फोमेरिक्सलाई अध्यक्ष हमालले लबिस्ट दीपक भट्टकै  ईशारामा उक्त लाइसेन्स नियुक्ति भएको एक महिनामा नै वितरण गरेको सेबोन स्रोत बताउँछ। इन्फोमेरिक्समार्फत नै शंकर ग्रुपले अर्बौंको रेटिङ गराएर लोन लिन सफल भएको छ।  

नियामक निकायका पदाधिकारीदेखि राजनीतिज्ञलाई रुझाएर रि–इन्स्योरेन्सदेखि रेटिङ कम्पनीसम्मको लाइसेन्स आफ्नो हातमा पार्न सफल शंकर ग्रुपको अहिले नजर नयाँ स्टक एक्सचेन्जमा परेको छ। अध्यक्ष हमालले गत असारको भारत भ्रमणमा नयाँ स्टक एक्सचेन्जका लागि आवश्यक गृहकार्य साथै अर्बौंको डिल पनि भइसकेको सेबोन स्रोत बताउँछन्।

एक व्यवसायीका अनुसार दोस्रो स्टक एक्सचेन्जको लागि विशाल ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, खेतान ग्रुपलगायतको पनि उत्तिकै इन्ट्रेस्ट छ। तर, अहिलेको अवस्थामा नै दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा आएमा ‘उक्त एक्सचेन्ज पनि राजनीतिकका साथै नियामकीय पहुँच भएको शंकर ग्रुपकै पल्ला भारी देखिन्छ’, सेबोन स्रोत भन्छ।