काठमाण्डौ । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। 

गत सोमबार बसेको मन्त्रिपरिषद्ले सेबोनको संशोधित नियमावली स्वीकृत गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुला गरेको छ। योसँगै नेप्से कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहनुमा आफ्ना विभिन्न तर्कहरु पनि पेस गरेको छ। 

संसारभरका स्टक एक्सचेन्जहरुको मर्जरको लहर चलिरहेको बेला नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा नयाँ स्टक एक्सचेन्ज खोल्न दिनुले सर्वथा गलत रहेको संघको ठम्याइ छ। ‘अझ त्यसमाथि नयाँ स्टक एक्सचेन्जमा प्राइभेट कम्पनीसमेतलाई लगानी गर्न दिनु अवैज्ञानिक र अव्यवहारिक छ’, विज्ञप्तिमा भनिएको छ। 

हालको नेपाल स्टक एक्सचेन्जलाई टाट पल्टाएर कवाडा सामग्रीको मूल्यमा विलय गराउन स्वार्थी समूहको उद्देश्य रहेको संघले जनाएको छ। संघले नेप्सेको पुनः संरचना गर्ने र धितोपत्रसम्बन्धी उपकरणहरुको विविधीकरण गर्दै गैरआवासी नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई भित्र्याउनुपर्ने सुझाव पनि दिएको छ।