काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यही साताभित्र नयाँ स्टक एक्सचेन्ज, कमोडिजिट एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन खुला गर्ने तयारी गरेको छ। 

सरकारले हालै धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ र धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन स्वीकृत गरेसँगै सेबोनले नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेको हो। यसका साथै सेबोनले कमोडिजिट एक्सचेन्ज सञ्चालनमा ल्याउन पनि अध्ययन कार्यलाई तीव्रता दिइरहेको छ। 

सेबोन स्रोतका अनुसार सेबोनले यही साताभित्रै नयाँ स्टक एक्सचेन्ज, कमोडिजिट एक्सचेन्ज र थप ब्रोकर लाइन्सेन्स वितरणका लागि आवेदन खुला गर्नेछ। ‘सेबोनले दुईवटा कमोडिजिट एक्सचेन्जलाई लाइसेन्स दिने गरी आवेदन खुला गर्नेछ’, स्रोतले भन्यो। 

नयाँ व्यवस्थाअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ। 

यसअघिको व्यवस्थाअनुसार ब्रोकर कम्पनीको चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ।

यसैगरी संशोधित नियमावलीअनुसार अब सञ्चालनमा आउने नयाँ स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ। यसअघिको व्यवस्थाअनुसार चुक्तापुँजी ५ करोड रुपैयाँमात्र थियो। 

त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमार्फत भने अब पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।