काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरले आज बिहीबारबाट कारोबार सुरु गरेका छन्।

गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डले कारोबार सुरु गरेका हुन्। नेप्सेको सिस्टमसँग जोडिएर गत सोमबारदेखि ती नयाँ ब्रोकरले मक ट्रेडिङ गरिरहेका थिए। मक ट्रेडिङमा कुनै समस्या नदेखिएपछि आजबाट ती ब्रोकरले पूर्ण रुपमा कारोबार सञ्चालन गरेको नेप्सेका एक अधिकारीले भने। 

नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्णले आजबाट औपचारिक रुपमा कारोबार सुरु गरिएको जानकारी दिए। ‘हाम्रो लक्ष्य असारभित्रैबाट कारोबार सुरु गर्ने थियो, त्यो पूरा भएको छ’, उनले बिजशालासँग भने।