काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको झन्डै २ दुई साता हुन लागिसकेको छ। तर, अहिलेसम्म पनि एउटा पनि कम्पनीले ब्रोकर लाइसेन्स लिनका लागि आवेदन दिएका छैनन्। 

सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको छ। तर, हालसम्म एउटा पनि कम्पनीबाट  ब्रोकर लाइसेन्स लिनका लागि आवेदन नपरेको सेबोनले जनाएको छ। 

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। 

आवेदन प्रक्रियामा सहजता ल्याउन सेबोनले स्थापना गरेको सहायता कक्षका कामु निर्देशक नवराज पण्डितले आवेदन नपरे पनि ६ वटा कम्पनीहरुले ब्रोकर लाइसेन्स लिनका लागि सेबोनसँग परामर्श गरिरहेको जानकारी दिए। ‘६ वटा कम्पनीले हाल राय–सुझाव लिइरहेका छौँ, सबै प्रक्रिया पूरा भएपछि आवेदन दिनेछन्’, उनले भने। 

पण्डितका अनुसार अहिलेसम्म नयाँ स्टक एक्सचेन्जको अनुमति लिनका लागि कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्। ‘कमोडिटी एक्सचेन्जका लागि भने पहिले आवेदन दिएका कम्पनीहरुलाई प्राथमिकता दिने सेबोनको तयारी छ’, पण्डितले भने। 

यसअघि पनि सेबोनले दुईपटक कमोडिटी एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो। त्यतिबेला आधा दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए।