काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स लिन १० वटा कम्पनीले चासो दिएका छन्। यद्यपि तीमध्ये एउटा पनि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्स लिन आवेदन भने दिएका छैनन्। 

सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको ३ दुई साता बितिसकेको छ। सेबोनले ३० दिनको म्यादसहित गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो। तर, हालसम्म एउटा पनि कम्पनीबाट ब्रोकर लाइसेन्स लिनका लागि आवेदन नपरेको सेबोनले जनाएको छ। 

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। 

आवेदन प्रक्रियामा सहजता ल्याउन सेबोनले स्थापना गरेको सहायता कक्षका कामु निर्देशक नवराज पण्डितले अहिलेसम्म १० वटा कम्पनीहरुले ब्रोकर लाइसेन्स लिनका लागि सेबोनसँग परामर्श गरिरहेको जानकारी दिए। ‘ती कम्पनीले हाल राय–सुझाव लिइरहेका छन्’, उनले भने। 

सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाले अहिलेसम्म ब्रोकर लाइसेन्सका लागि कुनै पनि कम्पनीको आवेदन नपरेको बताए। ‘हाल कम्पनीहरुले ब्रोकर लाइसेन्स लिने प्रक्रियाका विषयमा परामर्शमै रहेका छन्’, उनले भने।

सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि पनि गत असोज २ गतेबाटै आवेदन खुला गरेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि पनि अहिलेसम्म एउटा पनि आवेदन नपरेको सेबोन स्रोत बताउँछ।