काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवेदन खुला गरेको तीन सातापछि नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन परेको छ। 

सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार हिजो असोज २४ गते नयाँ ब्रोकर लाइसेन्सका लागि एउटा कम्पनीबाट आवेदन परेको छ। हिजो साँझतिर हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको हो’, उनले भने। 

सेबोनले ३० दिनको म्यादसहित गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ। ‘अहिलेसम्म एउटा आवेदन परेको छ’, देवकोटाले भने, ‘नयाँ ब्रोकर लाइसेन्स लिन थप ९–१० वटा कम्पनीले चासो देखाएका छन्। उनीहरु हाल सेबोनसँग परामर्श छन्।’ 

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। 

सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि पनि गत असोज २ गतेबाटै आवेदन खुला गरेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि पनि अहिलेसम्म एउटा पनि आवेदन नपरेको सेबोनले जनाएको छ।