काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अहिलेसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको बताए। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, नेप्सेले कुनै पनि कम्पनीलाई सिफारिस दिएको छैन’, उनले भने, ‘नेप्सेले एकमुष्ठ रुपमा नेपाल धितोपत्र बोर्ड(सेबोन)मा कम्पनीहरुलाई ब्रोकर लाइसेन्स लिनका लागि सिफारिस गर्नेछ।’

सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको छ। आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ। 

अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ। यद्यपि यो कम्पनीले नेप्सेबाट सिफारिस भने लगेको छैन। 

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ ९ग० को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो। तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि नेप्सेले सिफारिस दिने निर्णय गरेको थियो। 

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।