– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थालेको नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडीटिज एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न विभिन्न समूहबाट निरन्तर प्रयासहरु भइरहेका छन्।
सेबोनले गत असोज २ गते नै नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेन्जका लागि आवेदन माग गरेको छ। तर, नयाँ लाइसेन्स वितरण प्रक्रिया नै रोक्न विभिन्न समूहहरु गृहमन्त्रीदेखि अर्थ समिति र निर्वाचन आयोगसम्मको ढोकामा पुगेका छन्। अहिले सञ्चालनमा रहेका ५० वटै ब्रोकरहरु संगठित भएर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गरी नियमावली जारी भएको ३ वर्षपछि मात्र नयाँ लाइसेन्स वितरण गर्न मिल्ने गरी मन्त्रिपरिषद्को बैठकबाट संशोधनसहितको नियमावली पारित गर्न सफल भएका थिए। तर, सेबोनले उक्त संशोधित नियमावली सार्वजनिक गर्नुअघि नै पुनः संशोधन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको थियो।
मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भएको नियमावलीको पाँचौँ संशोधनमा सेबोनले नियमावली लागू गरेको ३० दिनको समय राखी नयाँ ब्रोकर लाइसेन्सका लागि निवेदन माग गर्न सक्ने व्यवस्था गरेको छ। सेबोनले नयाँ लाइसेन्सका लागि आवेदन माग गरेको २८ दिन हुँदा पनि यो प्रक्रिया रोक्न भने निरन्तर प्रयासहरु भइरहेका छन्।
गृहमन्त्री खाँणलाई प्रयोग गरी लाइसेन्स रोक्न प्रयासरत ती समूहहरु असफल भएसँगै तिनै समूह नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ समितिसम्म पुगेको थियो।
अर्थ समितिमा परेको उजुरीमा आवश्यक छलफल नै नगरी नियमावली नै संशोधन गरेर दोस्रोस्टक स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागिएको विषय उल्लेख गर्दै लाइसेन्स वितरणसम्बन्धी कार्य रोक्न आवश्यक कारबाही अगाडि बढाउन भनिएको छ। उक्त उजुरीका आधारमा नै समितिले ७ दिनभित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको थियो। तर, समितिका अनुसार अहिले प्रतिनिधिसभा विघटन भएसँगै समितिले अहिले विवरण संकलन गर्ने र नयाँ आउने अर्थ समितिले उक्त विषयमा थप छलफल गर्नेछ। अर्थात् अर्थ समितिमार्फत पनि ती समूह नयाँ लाइसेन्स प्रक्रिया रोक्न असफल भएको छ।
हाल उक्त विषय निर्वाचन आयोगसम्म पुगेको छ। निर्वाचन आचारसंहिता सुरु भइसकेकाले नियमविपरीत आवेदन खुलाइएको भन्दै आयोगमा लाइसेन्स प्रक्रिया रोक्न उजुरी परेको छ। उक्त उजुरीकै आधारमा आयोगले सेबोन र अर्थ मन्त्रालयलाई पत्र पठाउँदै स्पष्टीकरण सोधेको छ। आयोगले पठाएको पत्रमा ‘तीन दिनभित्र नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने भन्ने सम्बन्धमा चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न’ भनिएको छ।
ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको समयावधि दुई दिनमा र नयाँ स्टक एक्सचेन्ज र कमोडीटिज एक्सचेन्जको समयावधि १७ दिनमा सकिँदैछ। तर, त्यसका बाबजुद स्वार्थी समूहहरुबाट लाइसेन्स रोक्न भने निरन्तर प्रयासहरु भइरहेको छ।
सेबोनका एक उच्च अधिकारीले स्वार्थी समूहले अब लाइसेन्स वितरण प्रक्रिया रोक्नका लागि अदालतसम्म धाउने प्रबल सम्भावना रहेको बताए। ‘अब स्वार्थी समूहका लागि लाइसेन्स रोक्न अदालतको ढोकामात्र खुल्ला छ’, ती अधिकारीले भने, ’२०६४ सालमा पनि ब्रोकर लाइसेन्स प्रक्रिया रोक्नका लागि स्वार्थी समूह अदालतसम्म पुगेको थियो। त्यस बेला लाइसेन्स वितरण प्रक्रिया झन्डै ४ वर्षपछि धकेलिएको थियो। त्यसैले लाइसेन्स रोक्न स्वार्थी समूहको लागि अब अदालतमात्र अप्सन भएकाले उक्त समूह अदालतसम्म पुग्ने प्रबल सम्भावना देखिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago