– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटा स्टक डिलरसहित नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्।
लामो समयको रस्साकस्सीपछि सेबोनले गत असोज २ गतेदेखि एक महिनाको समयावधि राखेर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। जसमा अन्तिम दिनसम्म नयाँ ब्रोकर लाइसेन्सका ४६ वटा कम्पनीले सेबोनमा आवेदन दिएका हुन्।
आवेदन परेको ३५ दिनभित्र सेबोनले नयाँ ब्रोकर लाइसेन्स जारी गर्नुपर्ने व्यवस्था छ। तर, केही दिनअघि सर्वोच्च अदालतले निर्वाचन आचारसंहिता लागू भएको कारण देखाउँदै नयाँ ब्रोकरसहित नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरण प्रक्रिया तल्काल रोक्न सेबोनलाई अल्पकालीन आदेश दिएको छ।
अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी मार्केट सञ्चालनको लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो। सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशमा छलफलका लागि कात्तिक २२ गते उपस्थित हुन आदेश पनि जारी गरेको छ।
सर्वोच्चको आदेशसँग अब नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया के होला भनेर आमलगानीकर्तामा जिज्ञासा रहेको पाइन्छ।
सेबोनका प्रवक्ता रुपेश केसीका अनुसार हाल नयाँ ब्रोकर लाइसेन्सका लागि परेका आवेदनमा थप कामकारबाही अगाडि बढाइएको छैन। ‘अब कात्तिक २२ गतेपछि नयाँ लाइसेन्स वितरणको प्रक्रिया के होला भन्ने विषयमा टुंगो लाग्नेछ’, केसीले भने।
केसीका अनुसार नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवेदन दिन समय भोलि कात्तिक १५ गतेसम्म छ। ‘आजसम्म नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि एउटा पनि आवेदन परेको छैन’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago