काठमाण्डौ । नयाँ वर्ष २०७४ को पहिलो कारोबार दिन लगानीकर्तालाई झट्का लागेको छ । बजारमा ४५.५२ अंकको पहिरो गई १७ सय माथि पुगेको नेप्से परिसुचक १६५१.६१ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेर १ अर्ब २१ करोडमा खुम्चिएको छ भने सबै समुहको परिसुचकमा पहिरो गएको छ ।

लगानीकर्ता पर्ख र हेरको अवस्थामा निस्क्रिय बसिदिंदा बजारमा पहिरो गएको विश्लेषकहरुले बताएका छन् । बैंक, बिमा तथा सुचिकृत कम्पनीहरुको तेश्रो त्रैमासको बित्तीय विवरण हेरेर मात्र सेयर खरीदको निर्णय गर्ने अधिकांश लगानीकर्ताहरुको पुरानै प्रवृतिले समेत बजारमा खरीदको चाप घटी नेप्सेमा पहिरो गएको देखिएको छ ।

बजारमा बिमा समुहको सुचक सबैभन्दा बढी  ३२२.८४ अंकले घटेको छ । यस्तै, वाणिज्य बैंक समुह ४४.१४, विकास बैंक ४९.९३ र बित्त समुह ८.८५ अंकले घटेको छ । यसैगरी, होटल, जलविद्युत, उत्पादनमुलक र अन्य समुहमा क्रमशः ६२.१९, ३८.८५, ५९.४७ र ४.९२ अंकको गिरावट देखिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा आकर्षण घटेका कारण सेन्सेटिभ इण्डेक्स १०.२ र फ्लोट इण्डेक्स ३.६३ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ३५ कम्पनीका १६ लाख ८७ हजार ९६ कित्ता सेयर १ अर्ब २१ करोड १५ लाख ४८ हजार ४० रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी एनसीसी बैंकले ८ करोड ४१ लाख बढीको कारोबार गर्यो । गुराँस लाइफ इन्स्योरेन्सले ५ करोड २१ लाख,  राष्टिय बिमा कम्पनी लिमीटेडले ४ करोड ८६ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड ६४ लाख, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ४ करोड, युनाइटेड इन्स्योरेन्सले ३ करोड ४९ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सुचिमा ६ स्थान बिमा कम्पनी, २ स्थान वाणिज्य बैंक र २ विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार गोर्खाज फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढ्यो । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मुल्यमा ५.०१ र हाम्रो  विकास बैंकको सेयर मुल्य ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

नयाँ वर्षको पहिलो दिन ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ग’मायो । यो कम्पनीको सेयर मुल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मुल्यमा पनि १० प्रतिशतकै हाराहारीले गिरावट आयो । यस्तै, सुर्य लाइफ इन्स्योरेन्सको सेयर मुल्य ९ प्रतिशतको हाराहारीमा घट्यो ।