– प्रकाश न्यौपाने
काठमाण्डौ । सर्वोच्च अदालत मुद्दा चलिरहेकै अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) भने नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी अवस्थामा रहेको बुझिइएको छ।
सेबोनले थालेको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। यो मुद्दाको अन्तिम फैसला नआए पनि सेबोन भने नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी अवस्थामा रहेको सेबोन स्रोत बताउँछ।
सेबोनले गत असोज २ गते ३५ दिने म्याद राखेर नयाँ ब्रोकर लाइसेन्स र ४५ दिने म्याद राखेर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो। नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन्।
नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा आवेदन दिने म्याद करिब एक सातामात्रै बाँकी रहँदा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। यद्यपि, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि भने कुनै आवेदन परेको थिएन।
सेबोन स्रोतका अनुसार सेबोनका उच्च अधिकारीहरुले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि तयारी अवस्थामा बस्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। ‘अदालतको फैसला हाम्रो पक्षमा आउँछ, फैसला आउनासाथ जसरी भए पनि लाइसेन्स वितरण गर्नुपर्छ भनेर उच्च अधिकारीहरुले विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन्’, स्रोतले भन्यो।
हाल ५० वटा ब्रोकर सञ्चालनमा छन् । तीमध्ये ४४ वटा ब्रोकरका कुल ६९ शाखा सञ्चालनमा आइसकेका छन् । ‘थप २० शाखा सञ्चालनका लागि ब्रोकरले पूर्वाधार तयारी गरिसकेका छन्’, एक अधिकारीले भने, ‘थप ६५ स्थानमा १२० शाखा स्थापनाका लागि आवेदन प्राप्त भएको छ।’
सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने ब्रोकर लाइसेन्स वितरण गर्न सेबोन तयारी अवस्थामा रहेको विषयमा अनभिज्ञता प्रकट गरे। ‘हामी अदालतको फैसला कुरिरहेका छौँ’, उनले भने, ‘अदालतबाट कस्तो फैसला आउँछ, सोहीअनुसार सेबोन अगाडि बढ्छ।’
अदालतमा मुद्दा परेदेखि लाइसेन्स वितरणको सम्पूर्ण प्रक्रिया रोकेर सेबोन फैसला कुरेर बसिरहेको पनि श्रेष्ठले बताए। ‘अदालतको फैसला न नआई कसरी लाइसेन्स प्रक्रिया बढाउने ?’, उनले प्रश्न गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago