– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले पनि स्टक ब्रोकरको काम थालनी गरिसकेको छ। 

काठमाण्डौको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको पुरानो भवनमा नागरिक स्टक डिलरले स्टक ब्रोकर नं. ६० को कार्यालय सञ्चालनमा ल्याएको छ। यो ब्रोकरले नेप्सेबाट गत वैशाख ११ गते स्टक ब्रोकरको काम गर्ने अनुमति पाएको थियो। त्यसपछि जेठ २५ गतेबाट कम्पनीले सर्वसाधारणलाई अन्य स्टक ब्रोकरले जस्तै सेयर खरिद–बिक्री गर्ने काम सुरु गरेको हो। 

फराकिलो ठाउँमा रहेको यो ब्रोकर कम्पनीमा गाडी पार्किङका लागि राम्रै सुविधा छ।

स्टक ब्रोकर नं. ६० का वरिष्ठ अधिकारी कृष्णजंग थापाले छिट्टै लगानीकर्तालाई मार्जिन कारोबारको सुविधा पनि दिइने जानकारी दिए। ‘कम्पनीको चुक्तापुँजी नै ३ अर्ब ७३ करोड रुपैयाँ रहेकोले हामीलाई फन्डको कुनै समस्या छैन’, उनले भने, ‘मार्जिन कारोबारको अनुमति पाएपछि हामीले तुरुन्तै यो सेवा दिन्छौँ।’

हाल लागानीकर्तालाई लामो समय उधारो दिन नसके पनि किनबेच गर्नेको हकमा १–२ दिन यस्तो सुविधा दिन सकिने थापाले बताए। ‘तर, हामी सरकारी कम्पनी भएकोले लामो समय दिन सक्दैनौँ’, उनले भने।

थापाले ब्रोकर हाउसमा आउने धेरै लगानीकर्ताले मार्जिन कारोबारको सुविधा खोज्ने गरेको बताए। ‘त्यसैले आउँदो साउनमा मार्जिन ल्यान्डिङको अनुमति लिँदैछौँ, त्यसपछि लगानीकर्ताहरुलाई यो सुविधा प्रदान गर्नेछौँ’, उनले भने, ‘राष्ट्र बैंकले पनि स्टक ब्रोकरहरुलाई मार्जिन कारोबारको सुविधा दिनुपर्ने बताएको छ।’

थापाले कम्पनीले छिट्टै डीपीको सुविधा पनि लगानीकर्तालाई दिन बताए। ‘हामीले लगानीकर्तालाई पोर्टफोलियो व्यवस्थापनको सुविधा पनि दिने योजना बनाएका छौँ’, उनले भने।