– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । लामो समयको रस्साकस्सी र अदालतको ढोकासम्म पुगेपछि नयाँ आर्थिक वर्षबाट नेपालको पुँजीबजारमा तेस्रो चरणका ब्रोकर कम्पनीहरु बजार प्रवेश गर्दैछन्। 

नयाँ ब्रोकरसँगै थप नयाँ पुँजी र नयाँ लगानीकर्ता पनि बजार प्रवेश हुने आँकलन गरिएको छ। अहिले आउने नयाँ ब्रोकरहरु खासगरी कुनै–कुनै हिसाबले बजारसँग सम्बद्ध व्यक्ति र लगानीकर्ताको नै रहेको मान्ने जमात पनि बजारमा प्रशस्तै पाइन्छ। 

कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६)का सञ्चालक नरेन्द्र सिजापती अहिले आउने नयाँ ब्रोकरहरु नेपालको पुँजीबजारको इतिहासमा तेस्रो चरणका ब्रोकर रहेको बताउँछन्। हरेक चरणमा ब्रोकरहरु फरक–फरक अवस्था र परिवेशमा आउने उनको तर्क छ। 

सिजापतीका अनुसार पहिलो चरणमा सरकारको इच्छामा ३२ वटा ब्रोकर आएका थिए। त्यतिबेला सरकारले पुँजीबजारका लागि ब्रोकर ल्याएको उनको भनाइ छ। ‘ती ब्रोकरले करिब २० वर्ष नेपालको पुँजीबजार चलाए’, उनले भने। 

त्यसपछि दोस्रो चरणमा पढे–लेखेका र बजार बुझेकाहरुले थप १८ वटा नयाँ ब्रोकर ल्याएको सिजापती बताउँछन्। ‘उनीहरुले करिब १० वर्ष बजार चलाए’, उनले भने। 

तेस्रो चरणमा भने सरकारले पैसा भएका ब्रोकर ल्याउन लागेको सिजापती तर्क छ। पुँजीबजारमा पैसा हुने व्यक्ति आवश्यक रहेको पनि उनको भनाइ छ। 

सिजापती अझै एक चरणको ब्रोकर नेपालको पुँजीबजारमा आउनै बाँकी रहेको बताउँछन्। ‘ती भनेका बिग कर्पोरेट हाउस र अर्गनाइजेसनका हुनेछन्’, उनले भने। 

सिजापतीको विचारमा ब्रोकरहरु थपिँदै गए पनि २०५० साल र अहिलेका ब्रोकरमा खासै भिन्नता नरहेको बताउँछन्। ‘बजारमा ब्रोकरमात्र थपिँदै आएका छन् तर नयाँ–नयाँ प्रडक्ट आउन भने सकेको छैन’, उनले भने। 

केही महिना पहिलेमात्रै ब्रोकरेज सेवा सुरु गरेको नागरिक स्टक डिलरका वरिष्ठ अधिकारी कृष्ण थापा अहिले २० करोड रुपैयाँदेखि डेढ खर्ब रुपैयाँसम्मको पुँजी भएका ब्रोकर आउँदै गर्दा केही ब्रोकरहरुले करिब ५० प्रतिशत पैसा बजारमा लगाइसेकेको र केहीले असारसम्मका लागि एफडीमा राखेको बताउँछन्। ‘एफडीमा राखेको पैसा पनि अब साउनबाट बजारमा आउन सक्छ’, उनले भने। 

नयाँ ब्रोकर कम्पनी सन सेक्युरिटिज (स्टक ब्रोकर नं. ६४)का कार्यकारी अध्यक्ष कृष्ण गिरी नयाँ ब्रोकरहरु सञ्चालनमा आएसँगै १२ अर्ब रुपैयाँ बजारमा आउने बताउँछन्। ‘तर, त्यो पैसा १ वर्षमा कम्तीमा २० पटक रोटेट हुँदा करिब साढे २ खर्ब रुपैयाँ बजारमा चलायमान हुनेछ’, उनले भने, ‘यसले बजारलाई पनि राम्रै चलायमान बनाउनेछ।’