– अर्जुन तिमिल्सिना

काठमाण्डौ। अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ। हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ।

आम चासोको विषय बनेको ब्रोकर संख्या विस्तारलाई मूर्त रुप दिन नेपाल धितोपत्र बोर्डले अन्तिम तयारी गरिरहेको हो। धितोपत्र बोर्डले आमलगानीकर्ताको गुनासो सम्बोधन गर्नकै लागि उपत्यकासहित देशभर ६० वटासम्म ब्रोकर थप्ने अन्तिम गृहकार्य गरिरहेको छ। 

धितोपत्र बोर्ड स्रोतका अनुसार अहिले बोर्डका अधिकारीहरु ब्रोकर संख्या थप्ने विषयमा घनिभूत छलफलमा जुटेका छन्। ‘यसका लागि अर्थ मन्त्रालयले मागेअनुसार विनियामवली संशोधन गर्ने काम भइरहेको छ’, स्रोतले भन्यो। 

अब ब्रोकर लाइसेन्स दिँदा कम्पनी मोडलमा हुने र त्यस्ता कम्पनी पब्लिक हुनुपर्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए। ‘अहिलेको मोडालिटी भनेको सीधै धितोपत्र बोर्डले नै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न आवेदन माग्नेछ र छनौट पनि गर्नेछ’, ती अधिकारीले भने, ‘हरेक प्रदेशमा थप ७÷७ वटा र बाँकी राजधानीमा नयाँ ब्रोकर सञ्चालनका लागि लाइसेन्स वितरण गरिनेछ।’

अबको डेढ महिनाभित्र नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया सुरु गर्ने गरी काम भइरहेको धितोपत्र बोर्डका एक उच्च अधिकारीले जानकारी दिए। तर नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि कस्ता क्राइटेरिया हुनेछ भन्ने विषयमा उनले खुलाउन चाहेनन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले भने यस विषयमा नेप्सेलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नभएको बताए । ‘विगतमा ब्रोकर थप्ने कार्य नेप्सेले गर्ने भए पनि अन्तिम स्वीकृति दिने काम धितोपत्र बोर्डले नै गर्ने भएकोले सीधै बोर्डले आवेदन लिने तथा छनौट गर्ने कार्य हुनु नौलो हुने छैन’, उनले भने।