काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि विनियमावली तयार पारेको छ। 

पुँजी बजारमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स तथा ब्रोकरका शाखा विस्तार र प्रदेशस्तरमा नयाँ ब्रोकर थप्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। बजारमा बारम्बार ब्रोकर थप्नुपर्ने माग पनि उठ्दै आएका छन्। तिनै मागलाई सम्बोधन गर्न धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि विनियमावली तयार पारेको हो। ‘विनियमावली अर्थ मन्त्रालयमा पठाइएको छ’, धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘अब जति छिटो अर्थ मन्त्रालयबाट उक्ता विनियामवली स्वीकृति हुन्छ, त्यति नै छिटो नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडि बढ्छ।’  

अब ब्रोकर लाइसेन्स पाउन भने पुँजीगत क्षमता भएका दक्ष संस्थाले मात्रै आवेदन दिन पाउने स्रोत बताउँछ। ‘यसका लागि न्यूनतम १० करोड रुपैयाँ पुँजी भएका कम्पनी हुनुपर्नेछ’, स्रोतले भने, ‘ब्रोकरहरुका कार्य क्षेत्र र कार्यढाँचा बढ्नेछ, अत्याधुनिक सिस्टम प्रयोग गरिनुपर्नेछ।’

नयाँ ब्रोकरका लागि हालको टीएमएस सिस्टम पनि मान्य हुने छैन। ‘विश्व बजारमा चलेका सुविधासम्पन्न सिस्टम ल्याउनुपर्नेछ, जसमा लगानीकर्ताले लगानी व्यवस्थापनदेखि आफ्नो पोर्टफोलियो आफैँ व्यवस्थापन गर्नसक्ने, प्राविधिक विश्लेषण पनि गर्न सक्नेजस्ता सबै सुविधा एउटै सिस्टममा भएको टीएमएस ब्रोकरले ल्याउनुपर्ने छ’, स्रोतले भन्यो। 

अब ब्रोकरहरुले आईपीओ पनि निष्कासन गर्न पाउनेछन्। यसका लागि सबै ब्रोकरलाई बाध्य भने नबनाइने धितोपत्र बोर्डका एक उच्च अधिकारीले जानकारी दिए।