– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत आइतबार सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) मा दुई नयाँ महिला लगानीकर्ता हतारिँदै भित्र पसे। त्यसरी हतारिँदै आउनुको कारण थियो, उनीहरुले बेचेको जीवन विकास लघुवित्तको सेयर ईडीआईएसमा नदेखिनु। 

ती महिला लगानीकर्ताले मंगलबार सेयर बेचेका थिए। ईडीआईएस बुधबार ३ बजेसम्म गरिसक्नुपर्ने थियो। बिहीबार तीज पर्वका कारण महिलाका लागि बिदा थियो। संयोगवश सनी सेक्युरिटिजमा सीडीएससीमा सेटलमेन्ट गर्ने महिला नै भएकोले उनी बिदामा थिइन्। 

अर्को साता आइतबार ती महिला लगानीकर्ता र ब्रोकरका कर्मचारीबीच क्लोजआउटको विषयमा जुहारी चल्यो। ‘हामीले फोन गर्दा तपाइँहरुको मोबाइल नै बन्द थियो’, एक कर्मचारीले भने। तर, यो कुरा मान्न ती महिला लगानीकर्ता तयार थिएनन्। 

यथार्थमा ती महिला लगानीकर्ताले त्यो ब्रोकरमा पहिलोपटक कारोबार गरेका थिए। उनीहरुको डीपी पनि ब्रोकरमा भन्दा बाहिर थियो। ब्रोकरमै डीपी भएको खण्डमा यस्तो अवस्थामा ब्रोकरले सेटलमेन्ट मिलाइदिन सक्छन्। किनकि आफ्नो ग्राहकलाई क्लोजआउटमा पार्न ब्रोकर पनि चाहँदैनन्। 

ब्रोकर र ग्राहक दुवैको गल्तीले क्लोजआउट पर्ने समस्या बढ्दो छ। ती महिलाले आफूहरु नयाँ लगानीकर्ता भएको र क्लोजआउटमा परेका गुनासो गरे। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा ब्रोकरले लगानीकर्ताको क्लाइन्ट रजिस्ट्रेसन टीएमएसमा जस्तै मेरो सेयरमा पनि लिंक गरिदिएमा क्लोजआउटको समस्या धेरै हदसम्म कम हुने बताए। ‘यदि ब्रोकरले टीएमएसमा जस्तो क्लाइन्ट रजिस्ट्रेसन लिंक गर्न भुलेको अवस्थामा र नयाँ लगानीकर्ताले सेयर बेचेको अवस्थामा ईडीआईएसमा देखिँदैन’, उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताको डीपी ब्रोकरभन्दा बाहिर छ र लगानीकर्ता तथा ब्रोकरबीच राम्रो समन्वय हुन सकेन भने नयाँ लगानीकर्ता क्लोजाअउट पर्ने गर्छन्।’

प्रवक्ता न्यौपानेले ईडीआईएस नगरेको अवस्थामा कहिलेकाहीँ ब्रोकर आफैँले अर्को डीपीमा समन्वय गरेर पनि क्लोजआउटबाट आफ्ना ग्राहक जोगाउने गरेको बताए। ‘तर लगानीकर्ता विदेशमा वा फोन सम्पर्क सहजै हुन नसक्ने अवस्थामा भने नयाँ लगानीकर्ता क्लोजआउट पर्ने सम्भावना अधिक हुन्छ’, उनले भने, ‘लगानीकर्ताले केवाईसी फारम भरेपछि नै आफू टीएमएस तथा मेरो सेयरमा पनि क्लाइन्ट रजिस्ट्रेसन लिंक भए नभएको निश्चित गरेमा मात्र क्लोजआउटमा पर्ने जोखिमबाट जोगिन सक्छन्।’

एकपटक क्लाइन्ट रजिस्ट्रेसन लिंक भएपछि भने त्यस्ता समस्या फेरि नआउने न्यौपानेको भनाइ छ।