काठमाण्डौ । कोरोना भाइरसको प्रकोप भित्रसकेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले स्पष्ट पारेको छ । 

अस्पतालले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमा नर्भिकमा ८ जना कोभिड १९ का बिरामी भेटिएको विषय कपोकल्पित र भ्रामक रहेको प्रष्टीकरण दिएको हो । 

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सबै निकाय एकजुट भई समस्यासँग लड्नुपर्ने चुनौतिपूर्ण अवस्थामा फैलाइएको भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन् । 

'साथै यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा समेत गर्दछौं ।' नर्भिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।' 

नर्भिकले भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएको प्रष्ट पार्दै त्यस्तो कार्य गर्नेमाथि कडा कारबाहीको भागिदार बनाउनुपर्नेमा जोड दिएको छ । 

यसैबीच, नेपाल प्रहरीले समेत भ्रामक अडियोको विषयमा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीको साइबर ब्यूरोले यो प्रकरणमा अनुसन्धान थालिसकेको बताइएको छ ।