काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। 

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्नेछन्। 

यस्तै प्रोस्टेट ग्रन्थी, मिर्गौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्नेछन्। डा. श्रेष्ठसँगै डा. सञ्जीव श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत रहनेछन्।

शनिबारको निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ। 

शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको युरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन गर्नेछन्। 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ। निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।  

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।