काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ। 

अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो। 

अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन्। उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआईजीबाट अवकाशप्राप्त व्यक्ति हुन्। 

सिंहले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एन्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन्। 

यसैगरी नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन्। उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञसमेत हुन्। 

मिश्र यसअघि युनाइटेड फाइनान्सको सीईओका रुपमा कार्यरत थिए। युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए। 

मिश्रसँग गोर्खाज फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ। 

बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडीपी, प्लान इन्टरनेसनल, नेपाल टेलिभिजनलगायतमा काम गरेका थिए। यी संस्थाहरुमा उनको ननबैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो।

मिश्रले काठमाण्डौ युनिभरसिटीबाट बिजिनेस एडमिनिस्ट्रेसनमा एमफिल (प्राचार्य) सम्मको अध्ययन पूरा गरेका छन्। 

नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ।