काठमाण्डौ । मुटु रोगका लागि नेपालकै टप अस्पताल नर्भिकले निकट भविष्यमै क्यान्सर हस्पिटलको सेवा समेत थप गर्ने उद्घोष गरेको छ । 

यो अस्पतालले नर्भिकको विशेषज्ञ सेवालाई पोखरा र विराटनगरमा बिस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ । 

नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले विश्व मुटुदिवसको अवसरमा आयोजित एक कार्यक्रममा निकट भविष्यमै अत्याधुनिक प्रविधि र सुविधासम्पन्न २०० शैयाको हस्पिटल थप गरिने, १०० शैयाको साधनसम्पन्न क्यान्सर हस्पिटलको सेवा समेत थपिने र नर्भिकको विशेषज्ञ सेवालाई पोखरा र बिराटनगरमा समेत विस्तारित गरिने जानकारी दिएका हुन् । 

यसैबीच,  नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व मुटु दिवसको अवसर पारी साताव्यापी छुटको अफर सार्वजनिक गरेको छ । 

अन्य बेला ३ हजार ५ सय रुपैयासम्म पर्नसक्ने मुटुको परीक्षण यो अवधिमा न्यूनतम शुल्कमा गर्न मिल्ने अफर सार्वजनिक गरिएको नर्भिकका संस्थापक संचारका नायब महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए । 

यो अवसरमा नर्भिकले “विशेष मुटु जाँच योजना” नामक एक विशेष मुटु जाँच कार्यक्रमको तय गरेको थियो । यो अफर अन्तर्गत विशेषज्ञबाट जाँच, लगायत रक्त सुगरको जाँच, कोलेस्टेरोलको जाँच, जीवनदायी सङ्केतहरुको जाँच र परामर्श सेवा रहेका छन् । यो योजना असोज १४ गतेसम्म सुचारु रहने बताइएको छ ।

उनका अनुसार यस वर्षको विश्व मुटु दिवस असोज १३ गते दिन पर्न गएता पनि नर्भिकले उक्त दिवस विविध कार्यक्रमहरुका साथ असोज ८ गतेदेखि नै सुरु गरेको हो । नर्भिकका अनुसार मुटुरोग परीक्षणका विशेष योजनाहरू एक सातासम्म सुचारु राखिने छन् । 

विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ । 

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु, गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु यस दिवसको मुख्य उद्देश्य रहेको नर्भिकले स्पष्ट पारेको छ । 

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । 

यस वर्षको विश्व मुटु दिवसको नारा “आफ्नो जीवनलाई शक्ति दिऊ” रहेको छ ।

नर्भिकमा आयोजित समारोहमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरूसहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य तथा सभापतित्व नर्भिक हस्पिटलका अध्यक्ष, कवि गीतकार बसन्त चौधरीले गरेका थिए । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल र पोषणविज्ञ प्रणीति सिंहले मुटुरोगका विविध विषयहरुमाथि प्रकाश पारेका थिए । 

प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै “इन्टेन्सिभ केयर स्पेशलिष्ट” को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकस्थान मै सम्पूर्ण समाधान दिइने रणनीति अपनाइने बताए । 

नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब १०० जना बिरामीहरु मध्ये १ दर्जनलार्ई सो अवसरमा सम्मान समेत गरिएको थियो । 

गत वर्ष नर्भिकमा जटिल मुटुरोगको सफल उपचार गराई स्वास्थ्यलाभ गरिरहेका जेष्ठ नागरिकहरूलाई समेत सभापति चौधरीले सम्मान गरेका थिए । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । 

पत्रकारिताका माध्यमबाट नेपाली जनमानसमा स्वास्थ्यसम्बन्धी विविध जनचेतना अभिबृद्धि गर्न योगदान गर्ने कान्तिपुरकर्मी अतुल मिश्र, नेपाल समाचार पत्रकी भगवती तिमिल्सिना, जनस्वास्थ्य सरोकार मासिकका पुरुषोत्तम घिमिरे एवम् नर्भिक हस्पिटलका सञ्चार संयोजक तथा संस्थागत सञ्चार विभागका नायव महाप्रबन्धक आर.पी. मैनालीलाई पनि सम्मान गरिएको थियो ।