काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आधुनिक उपकरणहरुले सुसज्जित १५ शैयाको कोभिड आइसोलेसन वार्ड संचालनमा ल्याएको छ । 

हस्पिटलका अध्यक्ष बसन्त चौधरीले एक ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् । 

नर्भिक अस्पतालको मूल भवनभन्दा छुट्टै १५ शैयाको कोभिड १९ लक्षित आइसोलेसनमा वार्ड बिहीबारदेखि नै संचालनमा ल्याइएको उनले बताएका छन् । 

यसअघि सरकारदारा स्थापित कोरोना कोषमा नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले १ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेका थिए । नर्भिकको तर्फबाट ५० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने घोषणा गरिएको थियो भने ५० लाख रुपैयाँ रकम फाउण्डेसनको तर्फबाट उपलब्ध गराइएको थियो । 

सरकारले कोरोना कोष स्थापना गरेको भोलिपल्टै बसन्त चौधरीले १ करोड बराबरको सहयोग घोषणा गरेका थिए । 

पछिल्लो समय निजी क्षेत्रका अस्पतालहरुले कोरोना संक्रमण रोकथामको अभियानमा खुलेर साथ नदिएका भन्दै सर्वत्र आलोचना भइरहेको बेला नर्भिकले छुट्टै वार्ड संचालनमा ल्याएको हो । 

नर्भिक बाहेक काठमाण्डौका निजी क्षेत्रका ठूला अस्पतालहरुले भने कोरोना रोकथामका लागि हालसम्म आर्थिक वा कुनै पनि खालको सहयोग गरेका छैनन् । ती अस्पतालहरुमा कोभिड १९ लक्षित अलग्गै वार्डहरु समेत तयार गरिएको छैन । 

निजी अस्पतालहरुको यस्तै रबैयाप्रति पूर्व राजा ज्ञानेन्द्रले बिहीबार एक ट्वीट गरी विरोध जनाएका थिए । संकटमा पनि सहयोग गर्न तत्पर नहुनेहरुलाई उनले कायरसम्म भनेका थिए ।