काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजार सुधारका कामहरु गर्ने लगानीकर्ताहरुले अपेक्षा राखेका छन्। 

आज नेप्से पुगेका सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिहरुले नवनियुक्त सीईओ कार्कीलाई शुभकामना तथा बधाइ दिनुका साथै पुँजीबजारमा देखिएका समस्या र चुनौतीका विषयमा अवगत गरेका छन्। तिनै संघसंगठनका प्रतिनिधिले पुँजीबजार विकास र विस्तारका लागि आवश्यक सुझाव दिनुका साथै नवनियुक्त सीईओ कार्कीले आफ्नो कार्यकालमा बजार सुधारका काम गर्ने अपेक्षा पनि राखेका हुन्। 

नेप्सेमा नवनियुक्त सीईओ कार्कीसँगको भेटपछि पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पुँजीबजारलाई दूरदराजसम्म पुर्याउन सल्लाह तथा सझाव दिएको बताइन्। ‘मार्जिन लेन्डिङ, अक्सन मार्केट तथा यसअघिको ५८ बुँदे मागमा हुन बाँकी काम पूरा गर्न पहल गरिदिन भनेका छौँ’, उनले भनिन्, ‘सातै प्रदेशमा पुँजीबजारको विकास र विस्तारका लागि हामीले पनि सहकार्य गर्ने भनेका छौँ, यी विषयमा सीईओ कार्की पनि सकारात्मक हुनुहुन्छ, पुँजीबजार सुधारका कामहरु गर्ने आश्वासन दिनुभएको छ।’ 

आज आफूहरुले मौखिक सुझाव र सल्लाहमात्रै दिएको र आगामी दिनमा लिखित सुझाव नै दिने पोखरेलको भनाइ छ। ‘बजार विकास र विस्तारमा जे–जसरी हुन्छ छिटो गर्नुपर्ने हामीले सुझाव दिएका छौँ’, उनले भनिन्, ‘यदि ब्रोकर जान चाहन्छन् भने ब्रोकरलाई नै पठाउनुपर्ने अन्यथा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स दिएर भए पनि शाखा विस्तार गर्नुपर्ने सुझाव दिएका छौँ।’ 

संघकै सुदूरपश्चिम संयोजक कुमार थापाले इन्ट्राडे कारोबारका विषयमा गहन अध्ययन गर्न सीईओ कार्कीलाई सुझाव दिइएको बताए। ‘अहिले सेयर कारोबारमा धेरै समस्याहरु छन्, बेचेको सेयरको पैसा समयमै खातामा आउँदैन, किनेको सेयर पनि ढिला गरी खातामा आउँछ’, उनले भने, ‘यिनै कारणले लगानीकर्ताहरुलाई कारोबारमा समस्या भइरहेकोले समाधानका लागि उचित कदम चाल्न पनि सुझाव दिएका छौँ।’

सीईओ कार्की पुँजीबजार विकास र विस्तारमा अगाडि बढ्न सकारात्मक नै रहेको थापाले बताए। ‘उहाँबाट हामीले पुँजीबजार सुधारका कामहरु हुने अपेक्षा राखेका छौँ’, उनले भने।