काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्डले आगामी बैशाख ५ गतेदेखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने भएको छ । 

इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा चैत ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो स्किमको प्रति इकाई १० रुपैयाँ दरका कुल १ अर्ब २० करोड मूल्यका १२ करोड इकाईको बिक्री खुल्ला हुन लागेको हो । धितोपत्र बोर्डले यो म्युचुअल फण्डको स्कीमलाई चैत १० गते इकाई निश्कासनको अनुमति दिएको  थियो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १.२ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । यसको अर्थ साथमा १ हजार हुनेले समेत लगानी  गर्न सक्नेछन् । 

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका जुनसुकै शाखाबाट इच्छुकले इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् । 
नवील ब्यालेन्सफण्ड १० वर्षे अवधिको बन्दमुखी स्किम हो । 

कुल निश्कासन हुने इकाईमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ८० लाख इकाई स्किम व्यवस्थापक र प्रवद्र्धकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख मात्र सर्वसाधारणका लागि जारी हुनेछ । 

नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडको व्यवस्थापनमा संचालित ५  वर्षे नवील ब्यालेन्स फण्ड १ यसअघि नै परिपक्व भइसकेको छ भने ७ वर्षे नवील इक्वीटी फण्ड अस्तित्वमा छ । 

हाल १३ वटा म्युचुअल फण्ड संचालनमा रहेका छन् । 

धितोपत्र बोर्डले निकै लामो समयपछि म्युचुअल फण्ड संचालनको अनुमति दिएको हो । 

दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लगानीको राम्रो विकल्प हो । यसमा फण्ड म्यानेजरले नै बजार तथा अवस्थाको विश्लेषण गरी राम्रो रिटर्न दिने खालका कम्पनीको सेयरमा लगानी गर्छ र त्यसबाट प्राप्त  रिटर्न इकाईमा लगानी गर्नेलाई वितरण गर्छ । 

नेपालमा हालसम्म संचालनमा रही परिपक्व भएका र संचालनमा रहेका म्युचुअल फण्डहरुको वार्षिक रिटर्न दर १० प्रतिशत भन्दा माथि नै छ ।