काठमाण्डौ । आफूलाई स्वस्थ र मजबुत बनाउने अभियानमा क्रियाशील नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्दा आइतबार बजार परिसूचक घटे पनि कारोबार भने साढे २ अर्ब नजिक पुगेको छ । 

नेपाल बैंकले कुल बिक्री गरेको  ३ लाख ९९ हजार ९ सय ४० कित्ता कोषको संस्थापक सेयरमध्ये  ३ लाख ४१ हजार १ सय १३ कित्ता आज नै बिक्री हुँदा कारोबार माथि पुगेको हो । 

यसरी आइतबार १ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार नागरिक लगानी कोषको संस्थापक सेयरको भएको छ भने बाँकी १ अर्ब १९ करोड रुपैयाँको कारोबार सूचिकृत अन्य कम्पनीको भएको छ । कुल कारोबार २ अर्ब ४६ करोड भन्दा बढी भएको छ । 

आइतबार नेप्से परिसूचक चाहि १०.६९ अंकले ओरालो लागी १८०४.४८ अंकमा झरेको छ । 

अरु बेला बजारलाई माथि उठाउन महत्वपूर्ण योगदान गर्दै आएका वाणिज्य बैंक र बिमा समूह नै सबैभन्दा धेरै घटेका छन् । वाणिज्य बैंक १८.५४ अंक र बिमा समूह ८७.४७ अंकले घटे । यस्तै, बित्त समूहमा ०.७२ अंकको झिनो गिरावट देखियो । 

अन्य सबै समूहको सूचक हरियो भयो । सबैभन्दा बढी होटल समूहको सूचक २१.८ अंकले उक्लियो भने जलविद्युत, विकास बैंक र अन्य समूहको सूचक क्रमशः १३.८४, ३.५६ र ९.५४ अंकले उक्लिए । 

१ सय ४२ कम्पनीका कु २४ लाख ९१ हजार ६ सय ४ कित्ता सेयरको कारोबार भयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु
नागरिक लगानीको कोषको सबैभन्दा बढी १ अर्ब २० करोडको संस्थापक सेयर किनबेच भयो । त्यसपछि सनराइज बैंकले १५ करोड ८८ लाख, मुक्तिनाथ विकास बैंकको ६ करोड ४५ लाख, नवील बैंकको ५ करोड ९२ लाखको सेयर किनबेच भयो । यसैगरी, एनआइसी एशियाको ४ करोड ४० लाख, एनबी बैंकको ४ करोड ३६ लाख, एनएमबी बैंकको ३ करोड ८८ लाख,  सिद्धार्थ बैंकको ३ करोड र प्रभू इन्स्योरेन्सको २ करोड ८२ लाखको कारोबार भयो । 

धेरै कमाउने र गुमाउनेहरु
आइतबार किसान माइक्रो फाइनान्स, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकका लगानीकर्ता मालामाल भए । यी तीन कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको बढोत्तरी भयो । 

नेरुडे लघुवित्त विकास बैंक लिमीटेडको सेयर मूल्य साढे ६ प्रतिशतले घट्यो भने लक्ष्मी लघुवित्त बित्तीय संस्था, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम,राष्ट्रिय बिमा कम्पनीको प्रोमोटर सेयरको मूल्यमा करिब ६ प्रतिशतको हाराहारीमा गिरावट आयो ।