काठमाण्डौ । धितोपत्र कारोबार हुने दोश्रो बजारका लागि तीव्र प्रतिक्षाको विषय बनेको नागरिक स्टक डिलर कम्पनीको कामले अब गति लिने भएको छ । 

नागरिक लगानीकोष लगायतका कम्पनीहरुको लगानी रहेको नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठको नियुक्ति भएसँगै कम्पनीका बाँकी कामले तीव्रता पाउने आशा बढेको हो । 

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न असार १८ गते खुल्ला प्रतियोगिताको आह्वान गर्दै इच्छुकबाट दरखास्त आह्वान गरिएको थियो । परेका दरखास्तमध्ये प्रमुख कार्यकारी छनौट उपसमितिले २ जनाको नाम सर्टलिस्ट गर्दै कार्ययोजनासहित अन्तर्वार्ताका लागि बोलाएको थियो । 

सर्टलिस्टमा महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपाललाई हिजो शनिवार बोलाइएको थियो । उनीहरुको अन्तर्वार्ता, कार्ययोजना, अनुभव, शैक्षिक योग्यता लगायतलाई आधार बनाएर श्रेष्ठलाई सीइओ नियुक्त गरिएको छनौट उपसमितिका एक अधिकारीले जानकारी दिएका छन्। 

सीइओमा नियुक्त श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् । चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ केन्द्रीय बैंकको, बैंक सुपरिवक्षेण विभागबाट अवकाश भएका थिए । उनी राष्ट्र बैंकको तर्फबाट नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त भएका थिए।