काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप १८ कम्पनीलाई बुधबार स्वीकृति प्रदान गरेको छ।
योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ६४ पुगेको छ। यसअघि धितोपत्र बोर्डले ४६ वटा कम्पनीलाई यस्तो स्वीकृति प्रदान गरेको थियो।
बोर्डबाट हिजो स्वीकृति पाउने कम्पनीहरुमा भेन्चर क्यापिटल, एभरेस्ट इन्स्योरेन्स, सायन होल्डिङ कम्पनी, नागरिक लगानी कोष (सीआईटी), नबिल इन्भेस्टमेन्ट बैंकिङ, नबिल ब्यालेन्सड् फन्ड–२, नबिल इक्विटी फन्ड, एनएमबी क्यापिटल, एनएमबी हाइब्रिड फन्ड एल–१, एनएमबी फिफ्टी, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, एनएमबी बैंक, नेपाल बंगलादेश क्यापिटल, सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाल, नागरिक स्टक डिलर कम्पनी र सिटी एक्सप्रेस इन्भेस्टमेन्ट फन्ड रहेका छन्।
के हो बुक बिल्डिङ ?
बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरुको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो ।
बोर्डले लागू गर्न लागेको बुक बिल्डिङ विधि विभिन्न क्षेत्रका कम्पनीहरु, खासगरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमार्फत पूँजी परिचालन गराउन महत्वपूर्ण माध्यमका रुपमा मानिएको छ।
कम्पनीहरुले सार्वजनिक निष्कासनका लागि तीन तरिका अपनाउन सक्छन्। अंकित मूल्य १०० राखेर वा प्रति सेयर नेटवर्थको दुई गुणासम्म प्रिमियम थप गरी सार्वजनिक निष्कासन गर्न सकिन्छ।
अर्को भने बुक बिल्डिङ हो, जसमा कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ। मूल्य निर्धारण गर्ने विधिका रुपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रुपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ। अमेरिकाबाट सुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ भने एक अध्ययन प्रतिवेदन अनुसार विश्वका ४० भन्दा बढी मुलुकमा यसको सफल प्रयोग भइसकेको उल्लेख छ।
संसारभर विभिन्न मुलुकले आफ्नो अर्थतन्त्र र पूँजी बजार सुहाँउदो ढाँचामा बुक बिल्डिङ विधि लागू गरेको पाइन्छ। बुक बिल्डिङ विधि कार्यान्वयनका लागि बोर्डले निर्देशिका तयारीको क्रम लगभग अन्तिम चरणमा पुगिसकेको छ।
बुक बिल्डिङ विधि पनि हाल भइरहेको आइपीओ निष्कासन प्रक्रिया नै हो। यो विधि अवलम्बन गर्नका लागि छुट्टै सफ्टवेयरको आवश्यकता पर्दछ। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने बुक बिल्डिङको सञ्चालन स्टक एक्सचेञ्जले नै गर्ने प्रचलन छ।
बुक बिल्डिङ विधिमा पहिले सिल्ड कोटेशन गरी पठाइन्थ्यो अब भने यसका लागि प्रविधिकै सहयोगमा बेग्लै सफ्टवेयर आवश्यक पर्दछ।
बुक बिल्डिङ विधिमा सहभागी योग्य संस्थाले निश्चित प्रतिशत सेयर भने खरिद गर्नुपर्ने अनिवार्यता हुन्छ। बुक बिल्डिङको मुख्य उद्देश्य प्राइसिङको फेयरनेस नै हो। यो विधि कार्यान्वयनमा ल्याउन निर्देशिकामा नै योग्य संस्था र सर्वसाधारणको आवेदन हिस्सा किटान हुने बताइएको छ।
कुनै कम्पनीले प्राथमिक निष्कासन गर्ने तेस्रो विधि(बुक बिल्डिङ)मा जान चाहेकोे खण्डमा योग्य संस्थाहरुद्वारा विडबाट मूल्य निर्धारण भई कटअफ प्राइस निर्धारण हुन्छ । योग्य संस्थाहरुले विडबाट कटअफ प्राइस निर्धारण हुन्छ। यसपछि सोही कटअफ प्राइस नै सर्वसाधारणका लागि मूल्य कायम हुन जान्छ। सर्वसाधारणका लागि आइपीओ निष्कासन प्रक्रियामा पुरानै प्रक्रिया यथावत हुन्छ।
निष्कासन मूल्य वा कटअफ प्राइस
निष्कासन मूल्य भन्नाले योग्य संस्थागत लगानीकर्ताहरुले बोलकबोल प्रक्रिया कबोल गरेको न्यूनतम मूल्यलाई जनाउँदछ। निष्कासनकर्ता कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकले तयार गरेको मूल्याङ्कन प्रतिवेदनको आधारमा तल्लो दर(फ्लोर प्राइस)र माथिल्लो दर(क्याप प्राइस)को बीच निश्चित प्रतिशतभन्दा फरक नहुने गरी मूल्य सीमा निर्धारण हुन्छ।
योग्य संस्थाहरुले धितोपत्रमा विद्युतीय बोलकबोल प्रणालीमार्फत् आफूले खरिद गर्न चाहेको धितोपत्र संख्या र मूल्य प्रविष्टिका लागि लगइन युजर प्राप्त हुन्छ। बोलकबोल प्रक्रिया भने कति कार्यदिनका लागि खुल्ला राख्ने विषय बोर्डले बनाउने निर्देशिकामा व्यवस्था हुँदैछ।
योग्य संस्थागत लगानीकर्ताहरुलाई समानुपातिक रुपमा धितोपत्र बाँडफाँड गर्ने र म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको धितोपत्र मध्येबाट बाँडफाँड गर्ने गरिन्छ अनि मात्र सर्वसाधारण लगानीकर्ताहरुका लागि निर्धारित निष्कासन मूल्यमा छुट्याइएको धितोपत्र निष्कासन हुन्छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका हकमा निष्कासनकर्ता कम्पनीले निर्धारित निष्कासन मूल्यमा छुट पनि प्रदान गर्न सक्नेछन्।
यदि योग्य संस्थाहरुले आफूले बोलकबोल गरेको बाँकी रकम भुक्तानी नगरेमा ती संस्थाहरुको धरौटी रकम जफत गरी बिक्री नभएको धितोपत्र प्रत्याभूतिले सकार्न पर्छ। धितोपत्र बाँडफाँड तथा वितरण गर्दा योग्य संस्था र सर्वसाधारणको हिस्सा पनि बोर्डले निर्देशिकामा नै व्यवस्था गर्दैछ।
बजारमा असन्तुलन हुने भयका कारण योग्य संस्थाहरुले पाएका धितोपत्र सूचीकरण मिति वा व्यावसायिक उत्पादन सञ्चालन मिति जुन पछि हुन्छ, सो मितिबाट ६ महिनासम्म कुनै पनि किसिमले बिक्री वितरण गर्न नपाउने गरी रोक्का रहनेछ। ६ महिनाको अवधि पश्चात् २५ प्रतिशत, १ वर्षपछि २५ प्रतिशत र डेढ वर्षपछि बाँकी सबै धितोपत्र बिक्री गर्न पाइनेछ।
बुक बिल्डिङ विधिबाट आइपीओमा आवेदन गर्दा लगानीकर्ताहरुलाई फेयर प्राइसमा खरिद गर्ने अवसर प्राप्त हुन्छ। प्रिमियम मूल्यमा निष्कासन भएका धितोपत्रमा अहिलेजस्तो लगानीकर्तामा अलमलको अवस्था नरहने बताइन्छ।
यो विधिमार्फत् निष्कासनकर्ता कम्पनी र लगानीकर्तालाई विन–विन अवस्था कायम हुन्छ। न्यायोचित मूल्य निर्धारण गर्न नेपालको प्राथमिक बजारमा उत्तम विकल्पका रुपमा हेरिएको बुक विल्डिङ विधिलाई विश्वसनीय र पारदर्शी बनाउनका लागि स्वचालित विद्युतीय प्रणाली समेत विकास गर्नुपर्ने अर्को चूनौती देखिन्छ।
हाल नियमावलीमै यो विधि व्यवस्था गरिए पनि आवश्यक पूर्वाधारहरु तयार गरी अघि बढेमा नेपालको प्राथमिक बजारमा सफल कार्यान्वय हुने सम्भव देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago