– भक्तराज रसाइली
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले पनि ब्रोकरेज सेवा दिने तयारी गरेको छ।
औपचारिक रुपमा यही साताबाट सेयर बजार प्रवेश गर्ने तयारी गरिरहेको नागरिक स्टक डिलरले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कोसमेत काम गर्ने योजना बनाइरहेको हो। स्टक डिलरका रुपमा काम गर्न थालेसँगै अब निकट समयमै ब्रोकरको समेत काम गर्ने योजना रहेको नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठले जानकारी दिए। नागरिक स्टक डिलर बजारमा स्थापित भएपछि धितोपत्र दलालका रुपमा नियामक धितोपत्र बोर्डमा अनुमतिपत्रका लागि पहल गर्ने र धितोपत्र दलालको सेवा सर्वसाधारणलाई समेत दिइने उनले बताए।
संघीय संसदको भवननजिकै नागरिक लगानी कोषको नयाँ भवनको सेकेन्ड फ्लोरमा नागरिक स्टक डिलर र ब्रोकर कम्पनीसमेत रहने गरी नयाँ कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि सीइओ श्रेष्ठले जानकारी दिए। स्टक डिलर र ब्रोकरेज सेवासमेत सोही नयाँ भवनबाट दिने योजना रहेको उनले खुलासा गरे।
हाल नयाँ बाँनेश्वरस्थित कृष्ण टावरमा नागरिक स्टक डिलरको कार्यालय रहेको छ। नागरिक स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत हिस्सा रहेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19