काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले नेपाल टेलिकम (एनटीसी) को सेयर कारोबार गर्न पाउने कि नपाउने भन्ने विषयमा अहिले बजारमा निकै बहस भइरहेको छ। किनकि नागरिक स्टक डिलरमा एनटीसीको ९ प्रतिशत सेयर स्वामित्व छ। यो हिसाबले एनटीसी नागरिक स्टक डिलरको माउ कम्पनी पनि हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो नागरिक स्टक डिलर कम्पनीका लागि कारोबार गर्न योग्य ३९ कम्पनीको नामक सार्वजनिक गरेको थियो। जसमा एनटीसीसहित २६ वटै वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त र एउटा होटेल तथा पर्यटन समूहको कम्पनी छ। 

त्यसो उक्त सूचीमा नागरिक स्टक डिलरका अन्य माउ कम्पनीको नाम सूचीबद्ध छैन। नागरिक स्टक डिलरमा एनटीसी ९ प्रतिशतसँगै नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व छ। बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

आफ्नै लगानी भएको कम्पनीको सेयर कारोबार गर्न दिनुले बजारमा स्वार्थ बाझिने सम्भावना बढी हुने भन्दै बजारमा अहिले खैलाबैला नै मच्चिएको छ।

नेप्से प्रवक्ता मुराहरि पराजुली नेप्सेले कार्यविधिअनुसार नै नागरिक स्टक डिलरका लागि कारोबार गर्न योग्य कम्पनीको सूची तयार पारेको बताउँछन्। ‘तर नेप्सेले तयार गरेको सूचीमा आबद्ध सबै कम्पनीको सेयर कारोबार उसले गर्नैपर्छ भन्ने बाध्यता भने छैन’, उनले भने, ‘यो कार्यविधि नागरिक स्टक डिलरका लागिमात्रै होइन, सबै स्टक डिलरलाई लागू हुन्छ। जसअनुसार हरेक स्टक डिलरलाई यसरी नै कारोबार गर्न योग्य कम्पनीहरुको सूची तयार पारिन्छ।’  

यस विषयमा नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठले नेप्सेले आफ्नो कार्यविधिमा भएको व्यवस्थालाई टेकेर नागरिक स्टक डिलरका लागि कारोबार गर्न योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको प्रस्ट पारे। ‘तर नेप्सेले तयार गरेको सूचीमा रहेका सबै कम्पनीको सेयर कारोबार हामीले गर्नुपर्छ भन्ने छैन’, उनले भने, ‘हामीले तीमध्येका कम्पनीहरु छनोट गरी लगानी गर्न सक्छौँ।’

अर्कोतिर एनटीसीको सेयर कारोबार गर्न पाउने कि नपाउने भन्ने विषयमा छलफल हुने सीईओ श्रेष्ठले बताए। ‘आम रुपमा माउ कम्पनीको सेयर किनबेच चलन छैन’, श्रेष्ठले भने, ‘यद्यपि हामी १–२ दिनभित्रै यस विषयमा निष्कर्षमा पुग्नेछौँ। हामी सुशासनप्रति प्रतिबद्ध छौँ।’