काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा औपचारिक रुपमा कारोबार सुरु गरेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ५०१ ब्रोकर नम्बरबाट नागरिक स्टक डिलरले धितोपत्र कारोबार सुरु गरेको हो। नागरिक स्टक डिलरका एक अधिकारीका अनुसार हाल ३.५ अर्ब रुपैयाँ लगानी गर्न सक्ने गरी कारोबार सुरु गरिएको हो। ‘नेप्सेले दिएको ३९ वटा स्क्रिप्टहरुमध्ये केहीमा लगानी गर्न थालेका छौँ’, ती अधिकारीले भने। 

आज नागरिक स्टक डिलरले कुल ९ हजार कित्ता सेयर १ करोड २८ लाख ४३ हजार ५२० रुपैयाँबराबरको बिक्री गरेको छ भने ४७१ कित्ता सेयर ४ लाख २३ हजार ९०० रुपैयाँमा खरिद गरेको छ। 

ती अधिकारीका अनुसार अन्य ब्रोकरबाट पनि नागरिक स्टक डिलरले नेप्सले दिएको स्क्रिप्टभन्दा अरु स्क्रिप्ट पनि खरिदबिक्री गर्न सक्नेछ।